
‘सोचे झैं जिन्दगी रैनछ’ बोलको चर्चित गीतकी गायिका मधु क्षेत्रीको दोस्रो घरबारमा पनि दरार देखिएको छ । यस्तो लाग्छ, तीन वर्षअघि आफैँले गाएको चर्चित गीत ‘सोचेझैँ जिन्दगी रैनछ’ उनी आफ्नै लागि लेखिएको थियो ।
यतिबेला सामाजिक सञ्जालमार्फत् आफूले पछिल्लो समय भोगेका वास्तविकता पोखिरहेकी छिन् । गायिका क्षेत्रीले टिकटक लाइभमा रुँदै आफू र आफ्नी छोरीमाथि श्रीमान र उनको परिवारबाट हेला, हिंसा भएको बताएकी छन् । छ महिनाअघि संगीतसँग सम्बन्ध विच्छेद गरेर अस्ट्रेलिया गएकी मधु आफ्नै बिरह गाइरहेकी छन् ।
भनौं गायिकाको दोस्रो वैवाहिक सम्बन्ध पनि धरापमा परेको छ । पतिबाट घरेलु हिंसा भोगिरहेको उनी आफैँले खुलासा गरेकी छिन् ।
पहिलो श्रीमानसँग सम्बन्धबिच्छेदपछि गत वर्ष मात्र मधुले अस्ट्रेलिया बस्ने सुरेश खड्कासँग विवाह गरेकी थिइन् । सुरेश पनि ‘डिभोर्सी’ नै हुन् । उनका दुई छोरा अस्ट्रेलियामा आमासँगै बस्छन् ।
एक वर्षअघि महिना दिनको बिदामा आएका सुरेशले मधुसँग अदालती विवाह गरेका थिए । विवाहपछि मधुले संगीत क्षेत्रबाट बिदा लिएको घोषणा गरेकी थिइन् । त्यसको केही महिनापछि उनी छोरी रीनासहित अस्ट्रेलिया गइन् ।
कोभिकालमा ऋषि धमलालाई मधुले दिएको अन्तर्वार्ताको एक विवादित क्लिप हेरेपछि सुरेशले मधुसँग कुराकानी सुरु गरेका थिए । एक अन्तर्वार्तामा मधुले भनेकी छन्, ‘यौनका विषयमा यति खुलेर बोल्ने महिला, कस्तो फ्र्याङ्क भनेर उहाँले मलाई सोसल मिडियामा खोज्नुभएको रहेछ ।’
३६ वर्षीया मधुले आफू अस्ट्रेलिया पुगेको केही महिनापछि नै श्रीमानसँगको सम्बन्धमा दरार आएको बताएकी छन् । यसक्रममा आफू लुकेर बस्नसमेत बाध्य भएको उनले बताएकी छन् । गर्भवती भएको अवस्थामा पनि सुरेशले मानसिक तनाव र यातना दिएको आरोप उनले लगाएकी छन् । साथै आफ्नी किशोरी छोरीको बेवास्ता गरेको, हेला गरेको आरोप पनि लगाएकी छन् । मधुले लगाएको आरोपबारे सुरेशले केही बोलेका छैनन् ।
उनले २ दिनअघि टिकटक लाइभमा आएर पतिसँग सम्बन्ध राम्रो नभएको खुलासा मात्र गरिन् ।
मधु अहिले गर्भवती छिन् । मधुले रुँदै मध्यरात लाइभमा आएर आफूलाई पतिले कुट्ने गरेको समेत सुनाइन् । उनले आक्रोशित हुँदै भनेकी छिन्, ‘‘उसको दाइले पनि पेटको बच्चा उसको भाइको होइन भन्छ रे । म देखाउँछु कसको हो ? मलाई पनि उसले ह्यारेसमेन्ट गरेको थियो ।’’ घर परिवारकै कारण आफ्नो पतिले आफूलाई हेला गरेको मधुको गुनासो छ ।
उनले गुनासो गरेकी छिन्, ‘‘मध्यराती कालेहरू हिँड्ने बाटोमा मेरी जवान छोरी एक्लै हिँड्दै घर आउँछिन् । तर उ लिन जाँदैन । कस्तो माया नलागेको । दाइकी छोरी लिन जाँदोरेछ । मेरी छोरीले देख्छे भनेर गाडी पनि पर राख्दोरेछ ।’’
मधुका अनुसार उनी र उनकी छोरीलाई ससुराले पटकपटक दुर्व्यवहार गरेका थिए । ससुराले आफूहरूलाई ब्याड टच गर्ने गरेको भनेर श्रीमानलाई सुनाउँदा उल्टै आफूलाई तथानाम गाली गरेको उनको गुनासो गरेकी छिन् ।
करिब तीन महिनाअगाडि उनी छोरीलाई लिएर सुटुक्क घरबाट निस्किइन् । त्यसपछि एउटा रेस्क्यू सेन्टरमा आश्रय लिएर आमाछोरी बस्न थालेको उनको बताएकी छिन् ।
मधुले धेरै अन्तरवार्तामा आफूहरुबीचको प्रेम सम्बन्धलाई बयान गरेर कैयन अन्तरवार्ताहरू दिएकी छन् । धेरैले सोचेका पनि थिएनन्, उनीहरूको सम्बन्ध छिट्टै दुर्घटनामा पर्नेछ । त्यो खुशी धेरै दिन टिक्न नसकेको जब देखियो, मधुले रुँदै लाइभमा सबै कुरा सुनाइन् ।
