८ बैशाख २०८२, सोमबार

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल विजयी

Portugl

उपाधि दाबेदार पोर्चुगलले यूएफा युरो कपमा विजयी सुरुवात गरेको छ । लाइपजिग स्टेडियममा गएराति सम्पन्न खेलमा पोर्चुगलले चेक गणतन्त्रलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बराबरी उन्मुख खेलमा फ्रान्सिस्को कन्सेकाओले लेट गोल गर्दै पोर्चुगललाई जित दिलाए । क्रिस्टियानो रोनाल्डो कीर्तिमानी छैटौं संस्करण युरोकप खेल्ने एकमात्र खेलाडी बने । छनोट चरणमा हारविहीन रोबर्टो मार्टिनेजको टोलीले १-० ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै जित हासिल गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चेक गणतन्त्रले अधिकांश समय रक्षात्मक खेल खेलेको थियो । ६२ औं मिनेटमा भ्लादिमिर कौफलको पासमा लुकास प्रोभोडले गोल गर्दै इभान हसेकको टोली चेक गणतन्त्रलाई अग्रता दिलाए । ६९ औं मिनेटमा चेक गणतन्त्रका गोलकिपर जिन्ड्रिच स्टानेकले पोर्चुगलका नुनो मेन्डेसको हेडर रोकेका थिए ।

तर उक्त बल रोबिन ह्रानाकलाई लागेर पोस्टभित्र प्रवेश गरेपछि आत्माघाती गोलमार्फत पोर्चुगलले खेल बराबरी गर्‍यो । अन्तिम सयय तिर डियागो जोटाले गरेको गोलले मान्यता पाउन सकेन । अफसाइडका कारण जोटाको प्रयास खारेज गरिए पनि इन्जुरी समयमा कन्सेकाओले गोल गरेपछि पोर्चुगल विजयी भयो । यस जितसँगै समूह एफमा रहेको पोर्चुगलले १ खेलबाट ३ अंक जोडेको छ ।

टर्कीको युरोकपमा विजयी शुरुवात

टर्कीले युरोकपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा टर्कीले जर्जियालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

टर्कीको जितमा मेर्ट मूलडुर, अर्दा गुलेर र मोहमद केरेमले एक एक गोल गरेका थिए । त्यस्तै जर्जियाका लागि जर्ज मिकाउटाडजेले एक गोल गरेका थिए ।

यो जितपछि टर्कीले समुह एफमा महत्वपूर्ण जित हासिल गरेको छ । अब जर्जियाले जुन २२ मा चेक रिपब्लिकसँग खेल्दै छ भने सोहि दिन टर्कीले पोर्चुगलको सामना गर्ने छ ।