८ बैशाख २०८२, सोमबार

लगातार दोस्रो जितपछि जर्मनी युरोकपको नकआउट चरणमा, बराबरीमा रोकियो क्रोसिया

germany 1

आयोजक जर्मनी युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । स्टटगार्ट एरेना गएराति सम्पन्न समूह चरणको आफ्नो दोस्रो खेलमा हंगेरीलाई २-० गोल अन्तरले पराजित गर्दै जर्मनी प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको हो ।

जर्मनीको जितमा जमाल मुसियाला र इलकाय गुन्डोगानले समान १-१ गोल गरे । २२औं मिनेटमा गुन्डोगानको पासलाई सदुपयोग गर्दै मुसियालाले गोल गरेपछि घरेलु टोलीले पहिलो हफमा १-० को अग्रता बनायो । ६७ औं मिनेटमा म्याक्सीमिलियनको क्रसमा गुन्डोगानले गोल गरेपछि जर्मनी २-० ले विजयी भयो ।

पहिलो खेलमा स्कटल्यान्ड माथि ५-१ को फराकिलो जित दर्ता गरेको जर्मनीको २ खेलमा ६ अंक छ । जर्मनी समूह एको शीर्ष स्थानमा छ । यसै समुहको अर्को खेलमा स्विट्जरल्यान्ड र स्कटल्यान्डले १-१ गोलको बराबरी खेल्दै अंक बाढे । समूह बी को खेलमा क्रोएसिया र अल्बानियाले २-२ को बराबरी खेले ।

बराबरीमा रोकियो क्रोसिया

क्रोसियालाई अल्बानियाले बराबरीमा रोकेको छ । जारी युरोकप अन्तर्गत समुह बी को खेलमा क्रोसियाविरुद्ध इन्जुरी समयमा गोल गर्दै अल्बानियाले २-२ गोलको बराबरीमा रोकेको हो ।

यस अघि १-० गोलले पछि परेको क्रोसियाले खेलको ७४औ र ७६औ मिनेटमा गोल गर्दै २-१ को अग्रता हासिल गरेपनि इन्जुरी समयमा रोक्न नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो ।

अल्बानियाका लागि खेलको ११औं मिनेटमा क्वाजिम लासीले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७४औ मिनेटमा क्रोसियाका लागि आन्द्रेज क्रमारिकले बराबरी गोल गरेका थिए । त्यसपछि ७६औ मिनेटमा अल्बानियाका क्लाउस ग्जासुलाले आत्मघाती गोल गरेपछि क्रोसियाले २-१ को अग्रता हासिल गरेको थियो । त्यसपछि ९० मिनेटपछिको इन्जुरी समयको ५औ मिनेट अल्बानियाका क्लाउस ग्जासुलाले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो बराबरीपछि क्रोसियाको नकआउट चरणमा छनौट हुने सम्भावना कठिन बनेको छ । क्रोसियाले पहिलो खेलमा स्पेनसँग हर बेहोरेको थियो । क्रोसियाको अब २ खेलमा केवल एक अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ । त्यस्तै अल्बानियाको पनि २ खेलमा एक अंक रहेको छ र तेस्रो स्थानमा छ ।

अब क्रोसियाले समुह चरणको अन्तिम खेल जुन २५ मा इटालीविरुद्ध खेल्ने छ भने अल्बानियाले जुन २५ मै स्पेनसँग खेल्ने छ ।

स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा

यस्तै अर्को खेल अन्तर्गत स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिएका छन् ।

गएराती सम्पन्न खेलमा समुह ए अन्तर्गत स्वीजरल्याण्ड र स्कटल्याण्ड एक एक गोलको बराबरीमा रोकिएका हुन् ।

खेलको १६औ मिनेटमा स्कटल्याण्डका स्कट म्याकटोमिनीले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने खेलको २६औं मिनेटमा स्वीजरल्याण्डका लागि जेर्डन शाकिरीले गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बराबरीमा सकिएको थियो ।

यो बराबरीपछि स्वीजरल्याण्डको समुह ए मा २ खेलमा ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डको भने २ खेलमा एक अंक रहेको छ र तेस्रो स्थानमा छ ।

अब समुह चरणको अन्तिम खेलमा स्वीजरल्याण्डले जुन २४ मा जर्मनीको सामना गर्ने छ भने स्कटल्याण्डले जुन २४ मै हंगेरीको सामना गर्ने छ ।