७ बैशाख २०८२, आईतवार

रास्वपा र राप्रपा मिल्यौं भने फरक सन्देश दिनसक्छौंः राजेन्द्र लिङ्देन

rajendra
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसद्मा आएपछि अंक गणितमा फरक आएपनि अन्य कुनै परिवर्तन नआएको टिप्पणी गरेका छन् । शुक्रबार रास्वपाको स्थापना दिवसमा सहभागी भएको लिङ्देनले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै संसद्को प्रवृत्तिमा कुनै परिवर्तन नआएको बताएका हुन् । उनले ठूला दलका मुख्य नेताहरुले निर्णय गर्ने र संसद्लाई बन्धक बनाउने कार्य जारी नै रहेको बताए ।

‘संसद्को गणितमा फरक होला, तर संसद् पहिले जे थियो, त्यही छ । नियमावलीहरु दुई चार अक्षर तलमाथि होला, त्यही छ । प्रवृत्ति त्यही छ । केही राजनीतिक दल र तिनका पनि मुख्य नेताहरुले निर्णय गर्ने र त्यसको भारी संसद्ले बोक्ने, नयाँ कुरा केही पनि छैन,’– उनले भने ।

सांसदहरुलाई विधायकको भनिएपनि उनीहरु संसद्मा स्वतन्त्र भएर आफ्नो विवेकले काम गर्न नपाएको उनको भनाइ छ । उनले संसद् अहिले पनि केही नेताहरुको बन्धकमा रहेको बताए ।

रास्वपा र राप्रपाबीच सहकार्यका लागि छलफल भइरहेको पनि उनले बताए । आफूहरुले सहकार्य गर्ने सोच बनाएर संगै सरकारमा गएको पनि उनले स्मरण गराए । त्योबेलाको सरकारमा विभिन्न कारणले समीकरण परिवर्तन भएकाले सहयात्रा लामो हुन नसकेको उनले बताए । रास्वपा र राप्रपाले सहकार्य गर्दा जनतालाई फरक सन्देश दिन सकिन्छ भन्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए ।

‘हामी छलफलमा पनि छौं । सांसदको निर्वाचन भइसकेपछि हामीले अभ्यास पनि गरका थियौं । त्यसमा सफल हुन सकेनौं । भविष्यमा फेरि त्यस प्रकारको अभ्यास गर्नेछौं । हामी दुई वटा पार्टीले चाह्यौं भने फरक सन्देश दिन सक्छौं,’– उनले भने ।

    सम्बन्धित समाचार...