
पोर्चुगल युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा टर्कीलाई ३-० ले पराजित गरेको पोर्चुगल समूह चरणको एक खेल अगावै प्रि-क्वार्टरफाइनल चरणमा प्रवेश गरेको हो । यस नतिजाले पोर्चुगल समूह विजेता बन्ने पनि निश्चित भएको छ ।
बीभीबी स्टेडियम, डर्टमन्डमा पोर्चुगलका लागि बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले १-१ गोल गरे । भने १ गोल उपहार स्वरुप प्राप्त गर्यो । २१ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा आत्मघाती गोलका रूपमा पोर्चुगलले उपहार गोल पायो । टर्किस डिफेन्डर समेत अकायदिनको ब्याकपास सिधै पोस्टभित्र प्रवेश गरेपछि पोर्चुगलले २-० को अग्रता बनायो ।
५६औं मिनेटमा फर्नान्डेजले गोल गरेपछि पोर्चुगलले ३-० को सहज जित सुरक्षित गर्यो । यस जितसँगै समूह एफमा पोर्चुगलको २ खेलमा ६ अंक बनाएको छ । टर्कीको २ खेलमा ३ अंक छ भने जर्जिया र चेकियाको १-१ अंक छ । समूह चरणका अन्तिम खेलमा पोर्चुगलले जर्जिया र टर्कीले चेकियाको सामना गर्नेछन् ।
रोमानियामाथि बेल्जियमको जित
बेल्जियमले रोमानियालाई २-० गोल अन्तरले पराजित गरेको छ । यस जितले बेल्जियमको नकआउट चरणमा पुग्ने सम्भाना जिवित रहेको छ ।
कोलोन स्टेडियममा बेल्जियमलाई जित दिलाउन यारी टेलेमन्स र केभिन डे ब्रुएनाले गोल गरे । खेल सुरु भएको ७३ औं सेकेन्डम टेलेमन्सले गोल गर्दै सुरुवाती अग्रता दिलाए । ७९ औं मिनेटमा ब्रुएनाले गोल गरे गरेपछि बेल्जियम २-० गोल अन्तरले विजयी भयो ।
यस नतिजासँगै समूह ईमा रहेका चारवटै टोलीको अघिल्लो चरण पुग्ने सम्भावना जिवित छ । यस समूह मा रहेका रोमानिया, बेल्जियम, स्लोभकिया र युक्रेनको समान ३-३ अंक छ र चारवटै टोलीले १-१ खेल खेल्न बाँकी छ । समूहको शीर्ष स्थानमा रोमानिया छ । दोस्रो स्थानमा बेल्जियम रहँदा तेस्रो र चौथो स्थानमा क्रमस स्लोभकिया र युक्रेन छन् । बुधबार हुने यस समूहका अन्तिम २ खेलपछि अघिल्लो चरणमा पुग्ने टोलीको टुंगो लाग्ने छ ।
