६ बैशाख २०८२, शनिबार

भ्रष्टाचारको नयाँ नमूना- गाडी मर्मत र इन्धनमा मात्रै ५२ लाख हिनामिना

ghus
सांकेतिक तस्विर

बैतडीको दशरथचन्द नगरपालिकाले इन्धन र गाडी मर्मतका नाममा आधा करोडभन्दा बढी खर्च गरेको पाइएको छ ।

नगरपालिकाले इन्धन र गाडी मर्मतको नाममा मन लाग्दी खर्च गरेको पाइएको महालेखापरीक्षक कार्यालयले जनाएको छ । सवारी साधन मर्मत र इन्धन वितरण मापदण्ड बनाएर गर्नु पर्ने भए पनि नगरपालिकाले मनलाग्दी शैलीमा रकमान्तर गरेको हो ।

मापदण्ड बिनै ५२ लाख ३२ हजार रुपैयाँ खर्च गरेर नगरपालिकाले भ्रष्टाचारको नयाँ स्वरुप प्रस्तुत गरेको हो । सरकारी सवारी साधन सरकारी काममा मात्र प्रयोग गर्नु पर्ने, अनाधिकृत व्यक्तिले प्रयोग नगर्ने व्यवस्था भए पनि नगरपालिकामा सवारी मर्मत र इन्धन वितरणमा मनपरी गरेको पाइएको हो ।

सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारीता कायम गर्ने सम्बन्धि नीतिगत मार्गदर्शन २०७५ विपरीत सो नगरपालिकाले इन्धनमा मात्र ३० लाख ८२ हजार रुपैयाँ खर्च गरेको छ ।

इन्धन खर्चमा नगरपालिकाले कुनै मापदण्डसमेत बनाएको छैन । त्यस्तै, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ बमोजिम सरकारी जिन्सी मालसामान हानी नोक्सानी नहुने गरी संरक्षण गर्ने र चालू अवस्थामा राख्ने उत्तरदायित्व सम्वन्धित कार्यालय प्रमुखको हुने व्यवस्था छ ।

नगरपालिकाले भने महालेखापरीक्षकको फाइल नम्बर ४४५ तयार नगरेर सवारी मर्मतको नाममा २१ लाख ५० हजार रुपैयाँ खर्चेको हो । नगरपालिकाले अर्को चरम लापरबाहीका रुपमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को ३९ (१०) मा सरकारी रकमको खर्च लेख्नुअघि त्यस्तो रकम खर्च गर्न वा भुक्तानी दिन आवश्यक बिल भरपाइ र कागजात संलग्न भए र नभएको तथा संलग्न कागजात अनुसार भुक्तानी दिन रीत पुगे नपुगेको जाँच गर्नु पर्ने हुन्छ ।

तर, नगरपालिकाले इन्धन खरिदको भुक्तानी गर्दा एउटा सप्लायर्सको बियक राखेर अर्कै सप्लायर्सलाई भुक्तानी दिएको छ । २०७९ चैत २ मा काटिएको १६६ भौचर नम्बरको बिलमा भुक्तानी गर्नु पर्ने महादेव जनरल स्टोरलाई भए पनि हरि आयल स्टोरको बिजक नम्बर राखेको पाइएको छ । उक्त बिजकमा पाँच लाख ८७ हजारको बिल काटिएको छ।

यसरी नगरपालिकाले चरम आर्थिक चलखेल गरेको र भ्रष्टारको गन्ध आइरहेको स्थानीय बताउँछन् ।