१८ असार २०८१, सोमबार

जसिताको प्रश्न-‘महिला भएर समाजका लागि कस्तो उदाहरण दिन खोज्नुभएको हो ?’, स्वस्तिमा र साम्राज्ञीले मागे माफी

jasita

कान्तिपुर टेलिभिजनबाट प्रशारण भइरहेको ‘इट्स माइ शो’को पछिल्लो एपिसोड विवादमा परेको छ ।

सुरज सिंह ठकुरीले छाडेसँगै गत एपिसोडदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने यो कार्यक्रम ओसिन सिटौलाले सञ्चालन गर्ने थालेकी हुन् । यस कार्यक्रमको तीन दिनअगाडि प्रशारित एपिसोडमा नायिकाद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अतिथिका रूपमा पुगेका थिए ।

अघिल्ला प्रस्तोता सुरज सिंह ठकुरीले सञ्चालन गरेको कार्यक्रममा देखिने ओजिलो संवादको शैली ओसिनमा आइपुग्दा बोझिलो बन्न पुग्यो । अझ, त्यसमा थपियो सेक्सको तड्का । जुन ओसिनको पहिलो एपिसोड नै विवादित बन्न पुगेको छ ।

यो एपिसोडमा कार्यक्रम प्रस्तोता ओसिनले स्वस्तिमा र साम्राज्ञीलाई केही आपत्तिजनक प्रश्न सोधेकी थिइन् । जहाँ कलाकारहरूको नितान्त व्यक्तिगत विषयमा टिप्पणी भएका थिए ।

ओसिनले उक्त कार्यक्रमको ‘बजर राउन्ड’मा स्वस्तिमा र साम्राज्ञीलाई सोधेकी थिइन्, ‘पहिले धिरज मगरसँग डेट गरेकी एक नायिका जो अहिले अनमोल केसीसँग डेट गरिरहेकी छिन् ? उनी को हुन् ?’ यसको जवाफमा स्वस्तिमाले सबैभन्दा अगाडि ‘बजर’ दबाएर जसिता गुरुङ भन्दै नाम लिइन् । यसपछि, साम्राज्ञीले थप्छिन्, ‘धिरज मगर, प्रदीप खड्का अनि अनमोल केसी ।’

स्वस्तिमा र साम्राज्ञीले नायिका जसितालाई नायक अनमोलको अहिलेको प्रेमिकाका रुपमा चिनाएका छन् । उनीहरुले केही कलाकारको चरित्रमाथि औँला उठाउँदै सोच विचारबिनै नाम लिइदिन्छन् ।

ओसिनले फेरि उनीहरुलाई सोधिन्, ‘अनमोल केसीका कति वटा गर्लफ्रेन्ड थिए र उनीहरुको नाम के हो ?’ यसमा साम्राज्ञीले आफूलाई थाहा नभएको बताउँदा स्वस्तिमाले नायिका आना शर्मा र पूर्वमिस नेपाल अश्मी श्रेष्ठको नाम लिएकी थिइन् ।

स्मरणीय छ कि अहिलेसम्म अनमोलले कसैसँग आफ्नो प्रेम रहेको सार्वजनिक स्वीकारोक्ति गरेका छैनन् ।

यसरी खुलेआम रूपमा स्वस्तिमा र साम्राज्ञीले आफ्नो मर्यादाविपरीत कार्यक्रममा उपस्थित नभएकी अर्का नायिकासहित अन्य व्यक्तिहरूको निजी जीवनमा असर पर्ने गरी टिप्पणी गरेका थिए । उनीहरूले जसितालाई नायक अनमोलको अहिलेको प्रेमिका भनेर चिनाएका तर नायिका जसिताले कार्यक्रममा आफूलाई बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएकी छन् ।

जसिताले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नायिकाद्वय स्वस्तिमा, साम्राज्ञी र कार्यक्रम प्रस्तोता ओसिन सिटौलामाथि गम्भीर प्रश्नहरू तेर्स्याएकी छन् ।

इन्स्टाग्राममा पोस्ट गर्दै उनले यो अन्तर्वार्ता हेरेपछि कार्यक्रमका अतिथि र होस्ट तीनै जनाबाट आफूलाई गहिरो दुःख लागेको बताएकी छन् । ‘के हामी साँच्चै एक महिलाले अर्को महिलालाई होच्याउने प्रवृत्तिविरुद्ध छौँ ? उनीहरु कसैसँग मेरो व्यक्तिगत समस्या छैन, सुरुदेखि मैले उनीहरूलाई अभिनेत्री र होस्टको रूपमा उच्च सम्मान र प्रशंसा गर्दै आएकी छु, तर तपाईंहरुको यो कामले कतिको जीवन प्रभावित हुनेछ भन्ने सोच्नु भएको थिएन ? ‘

जसिताले महिला भएर महिलाकै विरुद्ध यस्तो कार्य गरेर कस्तो उदाहरण बन्नु भएको ? भनेर प्रश्न गरेकी छन् । उनले अगाडि लेखेकी छन्, ‘मेरो परिवारले तपाईंको अन्तर्वार्ता र समाचार हेरिरहेका छन् भन्ने लाग्दैन ? महिला भएर समाजका लागि कस्तो उदाहरण बसाल्नु भएको हो ? कसैको व्यक्तिगत जीवनलाई सार्वजनिक रूपमा बदनाम गर्ने र चर्चा गर्ने कारण के हो ?’

जसिताको यो पोस्टमा धेरैले कमेन्ट गर्दै आफूहरू उनको पक्षमा रहेको जनाएका छन् । नायक अनमोलले कमेन्टमा उल्लेख गरेका छन्, ‘म आदरणीय नारीहरुलाई अनुरोध गर्न चाहन्छु, कृपया वास्तविक चरित्रमा ध्यान केन्द्रित गर्नु होस् र मात्रै रिल क्यारेक्टरमा केन्द्रित नहुनुस् ।’

जसिताको स्टाटसमा कलाकारदेखि उनका प्रशंसकसम्मले स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्तिको आलोचना गरेका छन् । उनको स्टाटसमा अनमोलले समेत प्रतिक्रिया जनाउँदै पहिला वास्तविक चरित्रमा ध्यान दिएर त्यसपछि रिल चरित्रमा ध्यान दिन महिलाहरुलाई अनुरोध गरेका छन् ।

उनले इन्स्टाग्राम स्टोरीमा पनि लेखेका छन्, ‘भावनात्मक बदमासी वा मानसिक बदमासी भनेको अर्को व्यक्तिलाई अलग गर्न, खिल्ली वा जिस्काउने शब्दहरुको प्रयोग हो, भावनात्मक बदमासीले व्यक्तिको भावना, आत्मविश्वास र आत्म–मूल्यलाई लक्षित गर्छ ।’

जसिताले स्टाटस लेखेर चित्त दुखाएपछि स्वस्तिमा र साम्राज्ञीले उनीसँग माफी माग्न भ्याएका छन् । जसिताको स्टाटसमा कमेन्ट गर्दै स्वस्तिमा लेख्छिन्, ‘तिम्रो भावनामा चोट पुर्याएकोमा म साँच्चै माफी चाहन्छु, यो एक रमाइलो कार्यक्रम थियो, र धेरै उत्साहजनक तरिकामा प्रकट भयो, तिमी सधैं मेरो लागि धेरै राम्रो साथी छौँ, र एकपटक फेरि म तिमीसँग माफी चाहन्छु ।’

यस्तै, साम्राज्ञीले आफूले कुनै महिलालाई मात्र नभई कसैलाई पनि नीच देखाउने बारेमा नसोच्ने भन्दै स्पष्टीकरण दिएकी छन् ।

‘हामीलाई प्रश्नहरुको यो द्रुत राउण्डमा एक स्थितिमा राखिएको थियो, हामीले नतिजाको बारेमा सोचेका थिएनौँ, तर कुनै पनि तरिकाले तपाईंलाई धम्क्याउने प्रयास गरेका थिएनौँ, तपाईंको भावनामा चोट पुर्‍याएकोमा माफी माग्न चाहन्छु,’ उनले जसिताको स्टाटसमा कमेन्ट गर्दै लेखेकी छन् । तर, स्वस्तिमा र साम्राज्ञीको कमेन्टमा धेरैले उनीहरुलाई अश्लिल गाली गलौज गरेका छन् ।