
माध्यमिक शिक्षा परीक्षा-एसईईको नतिजा आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रत्येक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार पहिलो पटक आज एसईईको नतिजा सार्वजनिक गर्न लागेको हो ।
परीक्षा बोर्डको हिजो बसेको बैठकले नतिजा प्रकाशनका लागि आवश्यक आन्तरिक तयारी सबै पूरा भए पनि केही प्राविधिक काम बाँकी रहेकाले आज मात्र नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । नतिजा प्रकाशनमा कुनै त्रुटि नहोस् भनेर परीक्षा बोर्डको आज बिहान साढे ७ बजे बैठक बस्न लागेको र त्यस लगत्तै नतिजा सार्वजनिक गर्ने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।
नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन हुने बोर्डले जनाएको छ । उक्त व्यवस्थाअनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्छ । उक्त अंक अर्थात् १ दशमलब ६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङमा पर्नेछन् । उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन ।