
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई समीक्षा प्रतिवेदन बुझाएका छन् ।
इलाममा सम्पन्न उपनिर्वाचनमा पार्टीको नराम्रो हारसँगै रास्वपाले देश भरका नेता तथा कार्यकर्ताको धारणा बुझेर प्रतिवेदन बनाउन महामन्त्री ढकाललाई कार्यादेश दिएको थियो । उनी पार्टीको निर्णयअनुसार गत जेठ ६ गतेदेखि असार ५ गतेसम्म समीक्षा यात्रामा थिए । सो क्रममा उनले ३८ वटा जिल्लामा करिब ४ हजार २ सय १६ किलोमिटर सडक यात्रा र ८० किलोमिटर पैदल यात्रा पार गरेर समीक्षा यात्रा पूरा गरेका थिए ।
महासचिव ढकालले देशका ३८ जिल्लाको भ्रमण र स्थानीय पार्टी कार्यकर्तासँगको छलफलपछि उक्त प्रतिवेदन तयार पारेका हुन्। ढकालले समीक्षा प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरिदिन पनि पार्टी सभापति लामिछानेलाई आग्रह गरेका छन् ।
पार्टी सभापति लामिछानेलाई समीक्षा यात्राको प्रतिवेदन बुझाएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै महामन्त्री ढकालले करिब ३ हजार जनासँग प्रत्यक्ष संवाद गरी प्रतिवेदन तयार पारिएको बताए । उनले पार्टीको यथार्थ वस्तुस्थिति र अवस्था सारा जनताले थाहा पाउनुपर्छ भनेर प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरिदिन पार्र्टी सभापतिसमक्ष माग गरेको पनि बताए ।
सभापति लामिछानेले पार्टीभित्रका अन्य नेताहरुसँग पनि प्रतिवेदनका बारेमा छलफल गरेर सार्वजनिक गरिने प्रतिवद्धता व्यक्त गरेको उनले सुनाए । प्रतिवेदनमा सामान्य विषयहरु समन्वय, सम्पर्कदेखि पार्टीभित्रका आन्तरिक संकटबारे पनि उल्लेख रहेको महामन्त्री ढकालको भनाइ छ । सो क्रममा आफूले पार्टी महामन्त्रीको रुपमा सर्भे पनि गरेको उनले बताए ।
महामन्त्री ढकालले किन्तु परन्तु केही नभनी रास्वपाका नेताहरुले प्रदेश खारेजीको पक्षमा आवाज उठाउन आवश्यक रहेको कुरा प्रतिवेदनमा उल्लेख गरिएको बताए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा पार्टीका नेताहरु उभिन नसकेको पनि बताए । उक्त कुरालाई पनि रास्वाले जोडतोडका साथ उठाउन आवश्यक रहेको कुरा प्रतिवेदनमा उल्लेख गरिएको बताए ।
‘किन्तु परन्तु केही नलगाई प्रदेश खारेज गर्नुपर्छ भन्ने पक्षमा पार्टी उभिनुपर्छ । निर्वाचित कार्यकारी चाहिन्छ भन्ने कुरा हाम्रा नेताहरुले जोडतोडका साथ मुखरित गर्नुपर्ने, गर्न सकेनन् । जोडतोडले पार्टीका नेताहरुले त्यसलाई उठाउनुपर्छ,’– उनले भने ।
यस्तै, ढकालले तयार गरेको प्रतिवेदनमा रास्वपाको जनमत कमजोर बनेको र अहिलेको जस्तै गरि अगाडि बढिरहेमा रास्वपा विवेकशील साझा पार्टीको बाटोमा जाने निष्कर्ष निकालेका छन् ।
उनले प्रतिवेदनमा एमाले र माओवादी केन्द्रसँग मिल्नुभन्दा स्वतन्त्र मेयर बालेन शाह, हर्क साम्पाङ र गोपी हमालसँग मिल्दा पार्टीलाई हितकर हुने समेत सुझाव दिएका छन् । अहिलेको अवस्थामा रास्वपाको पक्षमा जनमत निकै खस्केको र केही कठोर निर्णय लिएर अघि नबढेमा अर्को चुनावसम्म अस्तित्व रक्षा गर्न कठिन हुने निष्कर्ष महामन्त्री ढकालको छ ।
प्रतिवेदन बुझाइसकेपछि पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री ढकालले पार्टी बिरामी परेको र समयमै अस्पताल लगेर सर्जरी नगरेको अवस्थामा पार्टी सक्किने अवस्थामा पुग्ने दाबी गरे । दुर्घटनाउन्मुख अवस्थामा रहेको पार्टी बचाउन केही कठिन निर्णय लिनुपर्ने उनको भनाइ छ ।
महामन्त्री ढकालले पार्टीको चुनाव चिह्न घण्टीमा कालो बादल मडारिएको कठोर टिप्पणी गरेका छन् । आफ्नो महामन्त्री पदलाई दाउमा राखेर भए पनि आफूले सत्य बोल्ने आँट गरेको र यसको परिणाममा पार्टीले आफूलाई निष्काशनसम्म गर्न सक्नेसमेत महामन्त्री ढकालले उल्लेख गरेका छन् ।
महामन्त्री ढकालले आम कार्यकर्ताबाट व्यक्त भएका भावनालाई प्रतिवेदनमा समेटेको र यसलाई कार्यान्वयन गर्न आफूले नेतृत्वलाई आग्रह गर्ने बताएका छन् । आफूले जन्माएको पार्टी भएका कारण प्रतिवेदनमा यथार्थ उल्लेख गरेको बताउँदै उनले यसका लागि आफ्नो महामन्त्री पदसमेत जान सक्ने उल्लेख गरेका छन् ।