९ बैशाख २०८२, मंगलवार

दक्षिण अफ्रिका टी-२० विश्वकप २०२४ को फाइनलमा

SA

दक्षिण अफ्रिका आईएसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा पुगेको छ । विहिबार बिहान पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो ।

अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । अफगानिस्तानका लागि कप्तान एडन मारक्रमले २३ र रेजा हेनड्रिक्सले २९ रन बनाए । अफगानिस्तानका फाजल्हाक फारोक्कीले १ विकेट लिए ।

यसअघि त्रिनिडाड एन्ड टोबागोको ब्रायन लारा रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अफगानिस्तानले निकै खराब प्रदर्शन गर्दै ११ ओभर ५ बलमा अल आउट हुँदै केवल ५६ रन मात्र बनाउन सकेको थियो । टी-२० आई विश्वपको सेमिफाइनलमा पहिलो पटक कुनै टोली १ सय रन भन्दा कम योगफलमा अल आउट भएको हो ।

दक्षिण अफ्रिकाका मार्को यान्सनले पहिलो ओभरमै रहमानउल्लाह गुरबाजलाई शून्य रनमै आउट गरे । ९ रन बनाएका गुलबदिन नाइब यान्सनकै बलमा बोल्ड भए । चौथो ओभरमा कागिसो रबाडाले इब्राहिम जाद्रानलाई २ रन र महोमद नाबीलाई शून्य रनमा बोल्ड गरे ।

पाँचौं ओभरको अन्तिम बलमा यान्सनले नाङ्गेलिया खरोटेलाई बाहिर पठाए । यससँगै पावरप्लेमा अफगानिस्तानको आधा टोली प्याभिलियन फर्कियो । सातौं ओभरमा टोलीको छैटौं विकेटको पतन भयो । अजमातुल्लाह ओमरजाई १० रनमा आउट भए । ओमरजाई बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । करिम जनात ८, नूर अहमद, शून्य र कप्तान राशिद खानले ८ रन जोडे । नवीन उल हकले २ रन बनाए ।

दक्षिणअफ्रिकाका मार्को यान्सेन र तबरेज शम्सीले ३-३ तथा कागिसो रबाडा, र एनरिच नोर्टजेले २-२ विकेट लिए । सेमिफाइनलको अर्को खेल आज राति ८ बजे भारत र इंग्ल्यान्डबीच हुनेछ ।