
साबिक विजेता इंग्ल्यान्डलाई पराजित गर्दै भारत आईसीसी टि-ट्वेन्टी विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ । भारतले इंग्ल्यान्डविरुद्ध ६८ रनको फराकिलो जित हात पारेको हो । जितसँगै रोहित शर्माको कप्तानीमा रहेको टोलीले २०२२ टी-२० विश्वकप सेमिफाइनलमा बेहोरेको हारको बदला पनि पूरा गरेको छ ।
भारत १० वर्षपछि टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको हो । पछिल्लो पटक २०१४ मा भारत फाइनल पुगेको थियो भने भारतीय टोली विश्वकप फाइनलमा पुगेको यो तेस्रो पटक हो । गुयानाको प्रोभिडेन्स स्टेडियममा भएको खेलमा इंग्ल्यान्डका कप्तान जोस बटलरले टस जितेर फिल्डिङ रोजेका थिए ।
रोहित शर्माको अर्धशतकको मद्दतमा भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो । रोहितले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५७ रनको इनिङ्स खेले । सूर्यकुमार यादवले ४७ रन जोडे । हार्दिक पान्ड्या २७ रनमा आउट भए ।
रविन्द्र जडेजा १७ र अक्षर पटेल १० रनमा अविजित रहे । इंग्ल्यान्डका लागि क्रिस जोर्डनले ३ विकेट लिएका थिए । १ सय ७२ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्ड १६ ओभर ४ बलमा १ सय ३ रनमा समेटियो । ओपनर जस बटलरले २३ रन बनाए । हृयारी ब्रुक २५ र जोफ्रा आर्चरले २१ रन जोडे । भारतका अक्षर पटेल र कुलदीप यादवले समान ३-३ विकेट लिए । जसप्रित बुम्राहको नाममा २ विकेट रहृयो ।
भारतले अब उपाधिका लागी शनिबार दक्षिण अफ्रिकाको सामना गर्ने छ । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै पहिलो पटक कुनै पनि आईसीसी प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो । दुवै टोली अपराजित रहँदै फाइनल सम्म पुगेका हुन् ।