
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी हत्याको छानबिन माग गर्ने २२ जनालाई गोली हानेर मारिएको दाबी गरेका छन् । उनले राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै यस्तो दाबी गरेका हुन् ।
‘मदन भण्डारीको हत्या काण्ड तत्कालीन सरकारले छानबिन गर्न समेत मानेन,’ ओलीले भने, ‘छानबिन नै गर्नुपर्दैन भन्यो । छानबिनको माग गर्ने कमसेकम २२ जनालाई गोली हानेर मारियो । सयौं मान्छे घाइते भए ।’
दासढुङ्गा घटनामा गाडी नदीमा पुगेर नेताहरु डुबे पनि चालक बाँचेर चितवन पुगेर आत्मसमर्पण गरेको उनले बताए । ‘आयोग बनाइदिन माग गर्दा कति मान्छे मारिनुपर्ने ? अहिले कस्तो कस्तो कुरामा आयोग बन्छन्, तर मदन भण्डारीको त्यस्तो हत्या काण्ड देब्रे पट्टिबाट गाडी कुद्छ,’ ओलीले भने, ‘दाहिनेपट्टिको सडक छाडेर खाली ठाउँ छाडेर डिल क्रस गरेर त्रिशुलीमा गाडी फ्याँकिएको छ । ड्राइभर माथि नै ढोका खोलेर जम्प गर्छ । ब्रेक लगाउँदैन । स्टेरिङ सोझ्याउँदैन । ढोका खोलेर खुत्रुक्क जम्प गर्छ । गाडी तल गएर खसिसकेको ठाउँमा बिस्तारै तल नदी किनारमा जान्छ । पानी आफ्नो शरिरमा हाल्छ । पारी पट्टिबाट माछा मार्नेहरुले देखिराखेका छन् । पछाडिबाट आउँदै गरेको गाडिले देख्छ । त्यसपछि ऊ माथि आउँछ । बसमा चड्छ । भरतपुर जान्छ । पुलिसमा आत्मसमर्पण गर्छ ।’
अध्यक्ष ओलीले विभिन्न घटनामा जोडिएका नेपाली कांग्रेसका उमेश गिरीले अहिले पटक-पटक अभिव्यक्ति दिएको भन्दै उहाँसँग पनि बुझ्न सकिने बताए । विविध कारणले यसको सत्यतथ्य पत्ता लाग्न नसकेको उनको भनाइ छ ।
अहिले सामान्य कुराहरुमा छानबिन आयोग वा समिति गठन गर्ने गरिएको भए पनि त्यस्तो महत्वपूर्ण घटनामा छानबिनका लागि समिति गठन नभएको उनको भनाइ छ । अध्यक्ष ओलीले आफूहरुले हत्याकाबारेमा छानबिन गरेर प्रतिवेदन तत्कालीन महासचिव माधवकुमार नेपाललाई बुझाए पनि नेपालले उक्त प्रतिवेदन सार्वजनिक नगरेको आरोप लगाए ।
‘हामीले अनेक बाधा र कुप्रचारका बीचमा अलिकति छानबिन गरेका थियौं,’ अध्यक्ष ओलीले भने, ‘त्यो प्रतिवेदन मैले तत्कालीन महासचिव माधवकुमार नेपाललाई बुझएँ । उहाँले सार्वजनिक गर्नुभएन । मैले त्यसको सार पत्रकारसम्मेलनमा सार्वजनिक गरें । त्यो प्रतिवेदन पनि अहिले खास उपलब्ध देख्दिन ।’
यस्ता कतिपय यस्ता घटना–दुर्घटनाका सत्यतथ्य सार्वजनिक हुन समय लाग्ने ओलीले बताए। ‘सत्यहरुलाई शक्तिले लुकाउँछन् नै । तर, त्यो प्रयत्न सधैँ सफल हुँदैन । समयक्रममा सत्य त बाहिर आइहाल्छ नै । समय लाग्छ, दासढुङ्गा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ । मदन-आश्रितको हत्यारा पत्ता लाग्छ,’ उनले भने ।