२० असार २०८१, बुधबार

‘राम्रो फिल्म गर्न पाए हुन्थ्यो भन्ने इच्छाले आफैंलाई गाह्रो बनायो’

anu

राजु गिरीको निर्देशन रहेको फिल्म ‘ईश्वर’ आगामी साउन ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । यो फिल्मको निर्माण टिम यतिबेला प्रचार प्रसारमा जुटिरहेको छ ।

आइतबार ‘ईश्वर’को पत्रकार भेटघाटमा फिल्मकी मुख्य नायिका अनु शाहले फिल्म पाउन कठिन छ रहेको बताएकी छिन् । ‘द युगदेखि युगसम्म’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी अनुले एक दशक लामो करिअरमा अपेक्षा गरे अनुसारको काम गर्न पाएकी छैनन् ।

पछिल्लो समय फिल्ममा खासै सक्रिय नदेखिएकी अनु दर्शकमाझ आफू विभिन्न माध्यमबाट आइरहने नायिकामा पर्छिन् । अब उनको कमब्याक फिल्म ‘ईश्वर’ प्रदर्शनमा आउने तयारीमा रहेसँगै फिल्मप्रति ठूलो आशा रहेको बताएकी छिन् ।

कुनै समय फिल्म र म्यूजिक भिडियो लगातार ब्यस्त रहने अनुलाई कोभिडपछि म्यूजिक भिडियो छिटपुट गरिरहेको भए पनि फिल्मको अफर लगभग शून्यजस्तै भयो । उनी ठूलो पर्दामा नदेखिएको नै ४/५ वर्ष भइसकेको छ ।

झन्डै १५ वर्षदेखि अभिनयमा सक्रिय अनुलाई निरन्तर फिल्म पाउन कठिन रहेको बताउँदै पत्रकार भेटघाटमा उनले भनिन्, ‘निरन्तर फिल्म पाइरहन कठिन नै छ । ‘ईश्वर’ नै मैले ४/५ वर्षपछि गरेकी हुँ । बीचमा कुनै फिल्म गरिनँ । अफर नै नआएको चाहिँ होइन । यद्यपि, विभिन्न कारणले गरिनँ ।’ म्यूजिक भिडियोका कारण कामको अभाव भने नरहेको उनको भनाइ छ ।

गएको ५ वर्षमा उनलाई राम्रो फिल्म गर्न पाए हुन्थ्यो भन्ने इच्छाले आफैंलाई गाह्रो बनाएको रहेछ । यस्तो इच्छा हरेक कलाकारलाई हुने उनको बुझाई छ । प्रायः स्थापित ब्यानरहरुमा आफ्नै कलाकार हुनु र कोरोनापछि फिल्म बन्न कमी हुँदा धेरै कलाकारहरुलाई काम एकदमै कम मिलिरहेको छ भन्ने उनलाई लाग्छ ।

कोरोनाअघि फिल्मबाट प्रस्ताव आइरहेको भए पनि त्यसपछि फिल्म नै कम बन्न थालेको उनी बताउँछिन् । ‘कोरोना अगाडि मलाई फिल्मको अफर आइरहेकै थियो । म्यूजिक भिडियो त म हप्ताभरि नै गरिरहेकी हुन्थेँ । अहिले पनि म्यूजिक भिडियोको चाहिँ कमी छैन । तर, कोरोनापछि पैसाको खडेरीले होला फिल्म नै कम बनिरहेका छन् । म्यूजिक भिडियो पनि धेरै नै कम छ,’ उनले भनिन् । अनुले डेढ दशकमा लगभग दुई दर्जन फिल्ममा अभिनय गरिसकेकी छन् ।

    सम्बन्धित समाचार...