
प्रतिनिधिसभामा बाढी-पहिरो र डुबानसहित विपद्को विषय उठिरहँदा सरकार फेरबदलको प्रसंगमा सांसदहरुले गीतका टुक्का सुनाएर एक-अर्कालाई व्यङ्ग्यवाण प्रहार गरेका छन् । सोमबारको बैठकमा सांसदहरुले एक-अर्कालाई व्यङ्ग्य र आलोचना गर्न नीतिकथादेखि गीतसम्मको सहारा लिए ।
‘यस्तो पनि हुँदो रैछ जिन्दगी…’ गीतको सुरुवात गरेका नेकपा एमालेका सांसद ठाकुर गैरेले । प्रतिनिधिसभा बैठकको सुरुमै आकस्मिक समय लिएर सांसद गैरेले सरकारले बहुमत गुमाएको प्रसंग गीतसँग जोडे ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि आफ्ना मन्त्रीहरुले राजीनामा लिएर जाँदा प्रधानमन्त्रीले फत्तेमानको गीत ‘यस्तो पनि हुँदो रै’छ, जिन्दगीमा कैले कैले…’ गाएको प्रसंग सुनाए। अनि उनले प्रधानमन्त्रीकै लागि अन्जु पन्तको गीत स्मरण गराएर भने, ‘तिमीले पराइ ठानेपछि…।’
पालो आयो माओवादी केन्द्रका पूर्णबहादुर घर्तीको । उनले कुन्ति मोक्तानको गीतको अन्तरा नै सुनाए। कांग्रेस र एमालेबीचको सहमति मुरलीधरको ‘उडायो, सपना हुरीले…’ जस्तै नहोस् भन्ने उनको व्यङ्ग्य थियो ।
सांसद घर्तीले बाहुन र गोहीको नीति कथा सुनाइरहँदा कांग्रेस सांसद राजेन्द्र बजगाईले आपत्ति जनाए। पछि थाहा भयो, खासमा सांसद बजगाईंको आपत्ति नीतिकथाको पात्र ब्राह्मणका बारेमा रहेछ ।
सत्ता पाउन लागेका र गुमाउँदै गरेका दलहरुले गीत र नीतिकथाका टुक्का सुनाउँदा अरु केही सांसदले त्यसमा पनि व्यङ्ग्य थपे । सांसदहरुले भनेजस्तो गीत, उखान र टुक्काका छेडखानी र व्यङ्ग्यमा मात्र संसद्को अमूल्य समय खेर नजाओस् । अहिलेलाई यति मात्र भन्न सकिन्छ ।