७ बैशाख २०८२, आईतवार

पहिरोले बगाएका दुई बस र यात्रुको खोजी कार्य पुनः सुरु

Trishuli Nadi 1

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको सिमलतालमा पहिरोले बगाएका दुई वटा यात्रुबस र त्यसमा रहेका बेपत्ता यात्रुको अवस्था अझै अज्ञात छ ।

पहिरोले बगाएका दुई वटा यात्रुवाहक बस र त्यसका बेपत्ता यात्रुको खोजीकार्य अहिले बिहान आठ बजेबाट फेरि सुरु हुँदैछ । त्यसका लागि उद्दार टोली घट्नास्थल तर्फ लागेका छन् । हिजो रात परेको र खराब मौसमका कारण खोजी कार्य रोकिएको थियो । हिजो अबेरसम्म बेपत्ता बस र यात्रु खोज्ने क्रममा बसको पर्दा र बच्चाको कपडा भेटिएको थियो ।

पहिरोले बगाएका यात्रुको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सहितका सुरक्षाकर्मी र गोताखोर हिजो बिहानैदेखि परिचालन गरिएको थियो । शुक्रवार बिहान करिव साढे तीन बजेतिर त्रिशूली नदीमा खसेर हराइरहेको दुई यात्रुवाहक बस र यात्रुको खोज्ने क्रममा बसको पर्दा र बच्चाको कपडा भेटिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्।

उद्धारकर्मीहरूले बस खोन्न चुम्बकको प्रयोग गरेका थिए । त्रिशुली नदीमा पानीको सतह दुई मिटरले घटे पनि पानी धमिलो भएकाले हिजो गोताखोरहरू धेरै भित्र पस्न नसकेको उद्धारमा खटेका सुरक्षाकर्मीहरुले बताएका थिए । यात्रु बस चितवनको सिमलतालमा पहिरोले बगाउँदा तीन जना यात्रुले हामफालेर ज्यान जोगाएका थिए ।

सिमलतालमा पहिरोले बगाएको बसमा हराइरहेका यात्रुका आफन्त र परिवारमा त्रास र चिन्ता छाएको छ । उनीहरुले खोजी कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

 दुई बसमध्ये काठमाडौंबाट रौतहटकको गौर जाँदै गरेको गणपति डिलक्समा ४१ जना यात्रु रहेको बताइएको छ । त्यस्तै, वीरगन्जबाट काठमाडौं आउँदै गरेको एन्जल बसमा रहेका २४ जनामध्ये १७ जना पर्साका वासिन्दा र ७ जना भारतीय नागरिक हुन् ।