
चितवनको भरतपुर-२९ सिमलतालमा पहिरोले बगाएर दुईवटा बस त्रिशूली नदीमा बेपत्ता बनाएको आज पाँच दिन भइसक्यो ।
सुरक्षा निकायको तालिम प्राप्त टोली निरन्तर खोजीमा खटिएको छ । तर अहिलेसम्म बसहरू भेटिएका छैनन् ।
घटनास्थलभन्दा निकै टाढा नारायणी नदीमा शवहरू फेला पर्न थालेपछि घटनास्थलदेखि गोलाघाटसम्म खोजी थालिएको छ । तर नदीको तीव्र बहाब र साधन-स्रोतको सीमितताले खोजीमा कठिनाइ भइरहेको छ ।
शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएका दुईवटा बसका गरी ६५ यात्रु बेपत्ता भएकामा अहिलेसम्म १४ वटा मात्र शव फेला परेका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अहिलेसम्म भेटिएका मध्ये ७ जनाको सनाखत भएको र ७ जनाको सनाखत हुन बाँकी रहेको छ ।
भेटिएका मध्ये हालसम्म नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा १० जना, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा एउटा शव भेटिएको प्रहरीले जनाएको छ ।
पहिचान खुलेका सबै शव चितवनको भरतपुर अस्पताल पठाइएको र बाँकी शवको पहिचान खुलेपछि भरतपुर पठाइने प्रहरीले जनाएको छ ।
सिमलताल पहिरोमा परेर हराएको वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बसमा कम्तिमा २७ जना र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्समा कम्तीमा ३८ यात्रु रहेको चितवन प्रशासनले जनाएको छ । बसमा सवार यात्रुमध्ये तीनजना त्रिशूली नदीमा पौडी खेलेर बाँच्न सफल भएका थिए ।
जिल्ला प्रशासनले अहिले पनि खोजी कार्य जारी रहेको दुवै बस फेला पर्न नसकेको जनाएको छ भने खोजी कार्यमा सहयोग गर्न सबैलाई अपिल समेत गरेको छ ।