
काठमाडौं महानगरपालिकाले श्रम बैंकमार्फत् ९ सय १२ जनालाई रोजगारी प्रदान गरेको छ । महानगरले आफ्नो श्रम बैंकमार्फत् ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी दिनु भएको छ । आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले यसबारेमा जानकारी दिनु भएको हो ।
महानगरले रोजगारी प्रवर्द्धन गर्न तीन वर्षे कार्ययोजना बनाई कम्तीमा १५ हजार जनालाई तालिम र पाँच हजारलाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले ‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको उहाँले बताउनु भएको छ ।
‘यसको सुरुवात भएको आर्थिक वर्ष २०८०/८१ मा सीप मेला २०८१ मार्फत २ हजार ५५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत १ हजार ४६७ जना र अनलाइनमार्फत २ हजार गरी जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेका छन्,’ मेयर शाहले लेख्नु भएको छ, ‘श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन् ।’
मेयर शाहका अनुसार ३ सय २९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जनालाई महानगरका विभिन्न विभागहरूमा रोजगारी उपलब्ध गराइएको छ । महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा/युवतीहरू रोजगार/स्वरोजगार भएको उहाँको भनाइ छ । ‘महानगरको सानो प्रयासले १ आर्थिक वर्षमा १ हजार ७ सय भन्दाबढी नेपाली दाजुभाइ दिदीबहिनीहरू रोजगार/स्वरोजगार हुनु भएको छ,’ मेयर शाहले बताउनु भएको छ ।
सिप मेलामा फर्म भरेका सबैलाई समय र स्थान एसएमएसमार्फत जानकारी दिई सोही अनुसार तालिम उपलब्ध गराउने पनि उहाँले जनाउनु भएको छ ।