
नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ ।
हिजो साँझ भरतपुर-२७ सालबासमा एउटा शव र अर्को शव नवलपरासी पूर्वको विनय त्रिवेणी गाँउपालिका-७ मा भेटिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार हिजोसाँझ सम्ममा १७ पुरुष र २ महिलासहित १९ जनाको शव फेला परेको हो । त्यसमध्ये १४ जनाको शव सनाखत भइसकेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
सनाखत हुनेमा भारतका ऋषिपाल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप बिक, बाराका परमानन्द पण्डित, चन्द्रनिगापुरका किशोरकुमार चौधरी, रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी र रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ । अरु पाँच जना पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
चितवनको सिमलताल दुर्घटनाको भएको आज सातौं दिन हो । अझै ४३ यात्रु र बसको अवस्था अज्ञात छ । यात्रुका परिवार र आफन्तले जीवितै उद्धार हुने आशा मारेका छन् ।
गएको शुक्रबार बिहान करिब ३:३० बजेको समयमा खसेको पहिरोले वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बसलाई पहिरोले बगाएर त्रिशूली नदीमा खसेको थियो ।
ती दुवै बसमा गरी चालक दलका सदस्य र यात्रु गरी ६५ जना सवार थिए । तीन जनाले आफुलाई बचाएका थिए । त्रिशुलीमा बेपत्ता रहेका दुवै बसको नेपाली सेना र सशस्त्रका गोताखोरले खोजी रहेपनि अहिलेसम्म फेला पार्न सकिएको छैन ।