
दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ ।
भीमसेनको मूर्तिमा शनिबार दिउँसो १: ४७ बजेदेखि पसिना आएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार, शनिबार दिउँसो ३: ५१ बजेसम्म शिलामा पसिना आएको थियो । मूर्तिको बायाँ भागमा पसिना आएको उनले बताएका छन् ।
पसिना आएपछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजासहित पूजाआराधना गरिएको छ । भीमसेनको शिलामा पसिना आएपछि मुलुक र जनतामा अनिष्ट हुने मान्यता रहेको छ ।
शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गरिन्छ भने शिलाको पसिना पुछिएको कपास राष्ट्रपतिको कार्यालयमा पठाउने प्रचलन रहेको छ ।
“जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहित पसिना पुछिएको कपास, त्यसलाई महाप्रसाद भनिन्छ, त्यो राष्ट्रपतिको कार्यालयमा पठाइन्छ,” उनले भने, “हामी भोलि (आइतबार) नै त्यो राष्ट्रपति कार्यालयमा पठाउँछौँ । गृह मन्त्रालयमा पनि पठाउँछौँ ।”
उनले भीमसेनको शिलामा यसअघि ०७८ वैशाख २५ गते ‘पसिना’ आएको आफूहरूले जानकारी पाएको बताए । “यसअघि २०७८ साल वैशाख २५ गते पसिना आएको रहेछ, त्यसपछि आज हो,” उनले भने ।