
चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र यात्रुको खोजी कार्यमा सघाउन आइपुगेको भारतीय टोलीले आज बिहानदेखि काम सुरु गरेको छ । भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्सको विशेषज्ञसहितको टोली भैरहवा हुँदै चितवन आइपुगेको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले १२ सदस्यीय उद्धार टोली कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्रको टिमसँग रहेर काम गर्ने जानकारी दिनुभएको छ । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर-२९ सिमलतालस्थित त्रिशूली नदीमा हराइरहेका दुई वटा बस अझै भेटिएक छैनन् भने बसमा सवार यात्रुको शव १ सय किलोमिटर पर भारतीय भूमिमा समेत भेटिन थालेका छन् ।
घटनाको १० दिन बितिसक्दा जिल्ला प्रहरी कार्यालय चितवनले अहिलेसम्म २५ वटा शव फेला परेको जानकारी दिएको छ । पछिल्लोपटक नवलपरासीस्थित नारायणी नदी क्षेत्रबाट शव फेला परेको हो । फेला परेका मध्ये २१ जना पुरुष र ४ जना महिला छन् । तीमध्ये १८ जनाको सनाखत भएर परिवारे शव बुझिसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो ।
दुई वटा बसमा ६५ जना यात्रु सवार थिए । ती मध्ये ३ जना पौडिएर बाच्न सफल भएका थिए भने अन्य बेपत्ता भएका थिए। घट्नास्थलमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी गरी ५ सय सुरक्षाकर्मीले निरन्तर सोनार क्यामेरा, र्याफटिङ बोट, मोटरबोट, गोताखोर र पैदलमार्फत खोजी गरिरहेका छन् ।