७ बैशाख २०८२, आईतवार

संसदमा विगतको शैलीभन्दा फरक देखिएका ओली

oli

प्रधानमन्त्री केपी शर्मा ओली विपक्षीप्रति तिखो प्रहार गर्ने नेतामा पर्छन्। सार्वजनिक समारोहमा होस् वा संसद्‍मा बोल्दा होस्, विपक्षीमाथि कडा प्रहार गर्ने उनको शैली नै हो । हिजोको प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा पनि उनी प्रतिपक्षी-त्यसमाथि पनि माओवादी केन्द्रप्रति खरो रुपमा उत्रिने सक्ने आकलन गरिएको थियो । तर प्रधानमन्त्री ओली आफ्नो विगतको शैलीभन्दा फरक देखिए । उनले विपक्षीको खासै आलोचना गरेनन् । बरु ओलीले आफू नेतृत्वको सरकारले आगामी दिनमा गर्ने कामकै बढी चर्चा गरे ।

विपक्षीको आलोचना त छँदै छ, आफूले गरेको कामको शब्द-शब्दमा जवाफ दिने नेता पर्छन् प्रधानमन्त्री ओली । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि विश्वासको मत माग्दा र छलफलपछि जवाफ दिँदा ओली केही खरो रुपमा प्रस्तुत हुनसक्ने अनुमान धेरैको थियो । तर, उनले आफ्नो पक्षमा दुईतिहाइ बहुमत नै पुगे पनि आफू सहमतिमै अगाडि बढ्ने बताए । विद्यमान अस्थिरता हटाउन संविधान संशोधन आवश्यक रहेकामा उनको विशेष जोड थियो ।

कांग्रेस र एमाले मिलेर संविधान सिध्याउन लागे भन्ने विपक्षीको आलोचनामा जवाफ दिँदै ओलीले एमाले-कांग्रेस मिलेरै आन्दोलन र बलिदान गरेर लोकतन्त्र ल्याएको बताए । मुलुकलाई समस्या पर्दा कांग्रेस-एमाले एकठाउँ उभिने विगतकै अभ्यास भएको उनको स्पष्टीकरण थियो ।

मुलुकमा भएको निराशा हटाउन र देशलाई आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको ओलीको दाबी छ । गठबन्धनका न्यूनतम साझा कार्यक्रम सार्वजनिक नभए पनि उनले पाँचवटा विषयलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने जानकारी दिए । विकास निर्माणका आयोजना समयमै सक्ने, आयात प्रतिस्थापन गर्दै स्वदेशी कच्चा पदार्थमा आधारित उपभोग्य वस्तु उत्पादन गर्ने, गरिबी अभाव र भोकमरीको अन्त्य गर्ने, विधि र पद्धतिभित्र रही नीति तथा कार्यक्रम र बजेटलाई परिमार्जन गर्दै परिणाम निकाल्ने गरी सम्पूर्ण संयन्त्र परिचालन गर्ने र सबै कालखण्डमा भएका भ्रष्टाचारको छानबिन तथा कारबाही गर्ने सरकारको प्राथमिकता रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीसँगै जोडिएको एउटा विषय हो-गिरीबन्धु टी-स्टेटको जग्गा सट्टापट्टा प्रकरण । र, यसमा आफूले कानुन बनाएरै काम गरेको स्पष्टीकरण दिए ।

सहकारी पीडितको सम्बन्धमा पनि उचित निर्णय लिने र जो सुकैलाई कानुनी कारबाही गर्ने प्रधानमन्त्री ओलीले बताए ।

यसअघिको सत्ता सहयात्री माओवादीले उहाँमाथि धोका दिएको आरोप लगाउँदै आइरहेको छ । तर, उनले दुई ठुला पार्टी कांग्रेस र एमालेले पटक-पटक काँध थाप्दा पनि यसअघिको सरकारले केही गर्न नसकेकाले नयाँ सरकार बनाउनुपरेको दाबी गरे ।

नयाँ सरकारसामु थुप्रै नयाँ कानुन निर्माण, संविधान संशोधन र शान्तिप्रक्रियालाई पूर्णता दिनुपर्ने जिम्मेवारी छ । यी जिम्मेवारी पूरा गर्न माओवादीसहितका दलहरुको पनि सहमति र समर्थन चाहिन्छ । त्यसैले पनि ओली केही नरम रुपमा प्रस्तुत भएको हुनसक्छ ।

वारी प्रचण्ड-पारी ओली, हेराहेर गरे मिसिएन बोली

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिए । आफ्नै समर्थनमा प्रधानमन्त्री बनाएका पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिपक्षी बनाउन सफल भएका ओली कांग्रेसको समर्थनमा सत्तामा पुगेका हुन् ।

सत्ता पक्षमा दुई ठूला दल कांग्रेस र एमालेसहित केही दल बस्दा प्रतिपक्षीको भूमिकामा नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू बसे ।

बैठकमा प्रधानमन्त्री ओली र निवर्तमान प्रधामन्त्री प्रचण्ड नजिकै बसे । तर, संसदमा उनीहरूको भूमिका फरक थियो । ओली सत्ता पक्षमा हुँदा प्रचण्ड प्रतिपक्षी बेञ्चमा थिए । ओली उपप्रधानसहित शहरी मन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग बसेका थिए । प्रचण्डको साथमा जनार्दन शर्मा थिए ।

गत असार १७ गतेसम्म ओली र प्रचण्ड दुवै नेता सत्ता पक्षका थिए । ओलीको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले अस्वभाविक रुपमा पद गुमाउँदा प्रतिपक्षीको भूमिकामा पुगे ।

नयाँ प्रधानमन्त्री अ‍ोलीले विश्वासको मत लिन राखिएको संसद बैठकमा ओली र प्रचण्ड नजिकै भए पनि बोल्न चाहेनन् । दुई नेताहरू एकअर्कालाई हेरिरहे । बैठक बसिरहँदा अ‍ोली बीचमै निस्किएर हिँडे । उनी बाहिर गएपछि संसदमा उनको खोजी भएको थियो ।

‘सर्वप्रथम त प्रधानमन्त्री नियुक्त हुनुभएकोमा केपी शर्मा ओलीलाई औपचारिक रूपमा बधाई ज्ञापन गर्न चाहन्छु, मैले प्रधानमन्त्री ज्यूलाई देखिरहेको छैन, उहाँले आफ्नो विश्वासको निम्ति मत मागिरहनु भएको छ, तर उहाँ यो हलबाट बेपत्ता हुनुहुन्छ,’ अध्यक्ष माधव नेपालले भने, ‘उहाँले संसदलाई महत्त्व नदिएको लाग्यो, उहाँका लागि महत्त्वपूर्ण कुरा भनेको आजको सदनमा आजको पूरा समय उपस्थिति आवश्यक थियो ।’

प्रधानमन्त्री ओली प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन बोल्नुअघि नै हिँडिसकेका थिए । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गरेका थिए ।

उनीहरूले पनि ‘प्रधानमन्त्रीले कतैबाट सुनिरहनु भएको होला, उहाँलाई बधाई दिन चाहन्छु’ भन्दै आफ्नो सम्बोधन सुरु गरेका थिए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत पाएसँगै प्रचण्डले औपचारिक रुपमा हात मिलाएर बधाई दिएका थिए । यसअघिसम्म उनीहरूले हेराहेर मात्रै गरेका थिए ।