९ बैशाख २०८२, मंगलवार

बंगलादेशबाट अहिलेसम्म १२ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

nepal farkya

बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलन हिंसात्मक हुँदै गएपछि त्यहाँ अध्ययन गर्नेमध्ये १ हजार २ सय नेपाली विद्यार्थी नेपाल फर्किएका छन् ।

बंगलादेशबाट हालसम्म १ हजार २ सय नेपाली विद्यार्थी फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हिजोमात्रै बंलादेशबाट ४ सय २० जना नेपाली विद्यार्थी नेपाल फर्किएका छन् । तीमध्ये ३ सय ५ जना काँकडभिट्टा नाकाबाट र अन्य त्रिभुवन विमानस्थल हुँदै आएका हुन् ।

बंगलादेशका विभिन्न शैक्षिक संस्थामा करिब पाँच हजार विद्यार्थी अध्ययनरत छन् । शिक्षा मन्त्रालयका अनुसार बंगलादेशका विभिन्न विश्वविद्यालय र कलेजहरुमा एमबीबीएस, बीडीएस , इन्जिनियरिङ, व्यवस्थापनलगायत विभिन्न विधा र तहमा नेपाली विद्यार्थी अध्ययनरत छन् ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थी सुरक्षित रहेको जानकारी दिनु भएको छ । ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग उनीहरूलाई सुरक्षित तवरले बस्ने, सुरक्षा दिने र उनीहरुलाई आवश्यक परेको अन्य सहयोग सम्बन्धमा नियमित रूपमा सम्पर्क गरिरहेको छ ।

दूतावासले नेपाल फर्कन चाहनेहरूको यात्रामा सहजीकरण गरिरहेको छ भने त्यहीँ बस्न चाहनेहरुका लागि घरभित्रै बस्न र सावधानी अपनाउन सल्लाह दिँदै आएको छ ।

    सम्बन्धित समाचार...