
गत जेठ २९ गते चितवन मेडिकल कलेजमा उपचाररत एक बिरामीको मृत्यु भएको भन्दै एक समूहले अस्पतालमा तोडफोड गर्यो । दिउँसो ३ बजेको समयमा उपचारकै क्रममा रहेका बिरामीको मृत्यु भएको हल्ला फैलाएर अस्पतालमा तोडफोड हुँदा अस्पताल केहीबेर अशान्त बन्यो ।
अस्पतालले तत्कालै विज्ञप्ती जारी गर्दै बिरामीको मृत्यु नभएको र उपचारकै क्रममा रहेको उल्लेख गरेको थियो ।
घटनाक्रम
जेठ २७ गते भरतपुर २२ का १८ वर्षीय आशिष विकलाई निकै पेट दुख्यो । परिवारले हतारहतार चौविस कोठीको पुष्पाञ्जली अस्पतालमा साँझ पाँच बजे ल्याए । तर, अस्पतालले रातमा यहाँ कठिन हुनसक्ने भन्दै चितवन मेडिकल कलेज रिफर गर्यो ।
ज्वरो र पेट दुखाइले आशिष बेहोस जस्तै थिए । परिवारका सदस्य निकै आत्तिए । जेठ २८ गते चिकित्सकहरुले एपेन्डीसाइटिस् भएको भन्दै परिवारको सहमतिमा अपरेसन गरे । जेठ २९ गते फेरि अपरेसन गरिएको ठाउँमा रगत जमेको र संक्रमण भएर फोहर जम्मा भएको भन्दै कलेजले परिवारको सहमतिमै दोस्रो अपरेसन गर्यो ।
आशिषको अवस्था निकै नाजुक बनेपाछी उनलाई भेन्टिलेटरमा राखियो । तर, सोही बेला बिरामीको मृत्यु भएको भनेर आफन्तहरुले अस्पताल तोडफोड गरे । अस्पतालभित्रै पसेर तोडफोड गर्ने, सुरक्षागार्ड र चिकित्सक माथि हातपात गर्ने काम गरे । प्रहरीलाई स्थिति सम्हाल्न मुस्किल भयो । पाँच जना पक्राउ परे, पछि छुटे । अस्पतालले बिरामीको मृत्यु नभएको र उनी जीवित रहेको विज्ञप्ती जारी गरे पनि उनका आफन्तहरुले पत्याएनन् ।
अन्ततः ती उपचाररत बिरामी भरतपुर महानगरपालिका वडा नं.२२ का १८ वर्षीय आशिष वि.क.पूर्णरुपमा निको भएर आज (मंगलबार) डिस्चार्ज भएका छन् ।
डिस्चार्ज पश्चात बोल्दै आशिषले भने–‘चितवन मेडिकल कलेजले मलाई राम्रो उपचार दिएर नयाँ जीवन दियो, म अस्पतालप्रति आभारी छु ।’ उनले थपे–‘अस्पताल आउँदा म अचेत थिए, अहिले घर जान पाउँदा खुशी छु ।’
१८ वर्षका आशिष भानु मावि पहारिलोटारमा शिक्षा विषय लिएर कक्षा ११ मा पढ्छन् । उनी परिवारका एक्लो छोरा हुन् । उनकी १५ वर्षकी बहिनी प्रमिशा विक छिन् ।