१० बैशाख २०८२, बुधबार

प्रधानमन्त्री ओलीले कमिसनको खेलमा उद्योगहरुलाई २२ अर्ब राजस्व छुट दिन लागेको सांसद दाहालको आरोप

Lekhnath Dahal
फाइल फोटो

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले कमिसनको खेलमा लागेर उद्योगहरुलाई २२ अर्ब राजस्व छुट दिन लागेको आरोप लगाउनुभएको छ । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्री ओलीले कमिसनमा लागेर उद्योगहरुको विद्युत् महशुल मिनाहा गर्न लागेको दाबी गर्नुभएको हो ।

उहाँले विद्युत् प्राधिकरणले कानुनसम्मत रुपमा बक्यौता नतिर्ने उद्योगहरुको विद्युत् काटेको भन्दै प्रधानमन्त्रीको ठाडो आदेशमा वक्यौता नतिरिकन विद्युत् जोड्नु नहुने बताउनु भयो ।

‘विद्युत प्राधिकरणको तर्फबाट लगातार लिखित पत्र पठाउँदा, ताकेता गर्दा पनि उहाँहरुले विद्युत महशुल तिर्न अस्वीकार गरिसके पछि लाइन काटिएको हो,’ उहाँले भन्नुभयो, ‘यही सन्दर्भमा प्रधानमन्त्रीले ठाडो आदेश दिएर लाइन जोड्नु, विद्युत महशुल मिनाहा गरिदिनु भन्नु भयो ।’

सांसद दाहालले राज्य राजस्वमा चल्ने भन्दै २२ अर्ब रुपैयाँ राजश्व छुट दिनु नहुने बताउनु भयो । उहाँले महशुल नतिर्ने उद्योगहरुलाई मिनाहा गर्ने हो भने महशुल तिरेका उद्योगहरुको पनि महशुल फिर्ता गर्नुपर्ने बताउनु भयो ।

‘२२ अर्ब राजश्व मार्ने छुट तपाईलाई छैन भन्ने सन्दर्भमा मैले प्रश्न उठाएको थिएँ,’ उहाँले भन्नुभयो, ‘त्यही सन्दर्भमा प्रधानमन्त्रीले उत्तेजित अलि उत्तेजित भएर जवाफ दिनुभयो । मेरो अहिले पनि मान्यता के छ भने उहाँहरु त कमिसनमा चल्नुहुन्छ । तर अर्बौँ राजश्व मार्न पाइँदैन । ६१ वटाभन्दा बाहेक पनि अरु उद्योग छन् ।’

अरु उद्योगले समयमै विद्युत महशुल तिर्छन् । यदि ६१ वटा उद्योगका विद्युत महशुल उहाँहरुले मिनाहा गर्ने हो भने अरु उद्योगको पनि महशुल फिर्ता गर्नुपर्छ भन्ने मान्यता मेरो हो ।’

सांसद दाहालले प्रधानमन्त्री ओलीले बिचौलियाको दबाब र प्रभावमा परेर विद्युत जोड्न आदेश दिएको भन्दै विद्युत् प्राधिकरणले प्रधानमन्त्रीको आदेशको अवज्ञा गर्नुपर्ने बताउनु भयो ।