
रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन गरेको दुई वर्ष पूरा भएको छ । विं.सं. २०६९ साल असार ७ गते राष्ट्रियसभा गृहमा ठूलो तामझामका साथ प्रदेश र प्रतिनिधिसभाको निर्वाचनभन्दा पाँच महिनाअघि रास्वपा घोषणा गरे ।
पार्टी गठन भएको पाँच महिनामा प्रत्यक्षमा सात सिटसहित समानुपातिक गरी कूल २० सिट जित्न रास्वपा सफल भयो । पछि उपनिर्वाचनबाट तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएपछि रास्वपा संसदको चौथो बलियो शक्ति भयो ।
पार्टी गठन भएको दुई वर्षमा रास्वपाले थप उचाई लिनु पर्ने हो । तर, पार्टी सभापति लामिछानेसहित अधिकांश नेताहरु विवादमा तानिन थाले । लामिछानेविरुद्ध सहकारी रकम हिनामिनाको छानबिन जारी छ । पासर्पोट दुरुपयोगको मुद्दा अझै किनारा लाग्न सकेको छैन । ती मुद्दाबाट लामिछाने कहिले उन्मुक्क्ति पाउने हुन निश्चित भइसकेको छैन ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको विकल्पका रुपमा हेरिएको रास्वपा सभापतिसहित अधिकांश नेताहरु विवादमा तानिन थालेपछि प्रतिप्रश्न उठ्न थालिएको छ ।
निर्वाचन जितेपछि रास्वपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा दोहोर्याएर सरकारमा गयो । कांग्रेस, एमाले र माओवादीको विकल्पको रुपमा हेरिएको रास्वपा उनीहरु जस्तै सत्तामा लिप्त हुन थाले । यसैबीच जनतामा अरु पार्टी जस्तै भएको बुझ्न थाले ।
सत्ताबाट बाहिरिएको रास्वपा केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गरेपछि बैठक बसेर रणनीति बनाउन थालेको छ । बैठकहरूमा रास्वपाबाट प्रतिनिधिसभाको उपसभामुख भएकी इन्दिरा राना मगरको अमेरिकी दूतावासलाई पत्र लेखेको विषयमा छलफल गरिरहेको छ ।
बिहीबार रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुखले लेखेको भनिएको पत्र अमेरिकी दूतावासमा दर्ता नभएको दाबी गर्न भ्याए । सो पत्र कार्यान्वयनमा नै नगएको उनको दाबी थियो ।
झाले पैसाको कारोबार नभएको बताउँदै भने, ‘यो पत्र १८ महिनाअगाडि लेखिएको रहेछ, हामीले आफ्नो स्रोतबाट बुझ्दा अमेरिकी दूतावासमा रजिष्टर पनि नभएको र त्यसैले गर्दा त्यसमा सिफारिस गरिएअनुसार कसैको काम नभएको पाइएको छ ।’
उता संसददेखि सडकसम्म कांग्रेस–एमालेका सांसदहरुले उपसभामुखका विषयमा गम्भीर छानबिन गर्नु पर्ने आवाज उठाइराखेका छन् । सत्ता पक्षका सांसदहरूले उपसभामुखले पदीय जिम्मेवारीबाट राजीनामा दिएर अनुसन्धानलाई सघाउनु पर्ने तर्क गर्न थालेका छन् ।
विवादमा तानिएकी उपसभामुख राना मगरले राजीनामा दिएमा संवैधानिक परिषद्मा बहुमत पुर्याउने सत्ता पक्षको दाउ छ । राजनीतिको सबै अंक गणित केलाएको रास्वपाले सकेसम्म उपभासमुखलाई जोगाएर जाने गरी बचाउमा उत्रिएको छ । जे जस्तो भए पनि रास्वपाबाट उपसभामुख भएकी राना मगरले विवादित कार्य गर्दा त्यसको असर पार्टीलाई धक्का लागेको छ ।
ढाकापछि ढकाल
रास्वपाका शक्तिशाली महामन्त्री एवं प्रवक्त डा. मुकुल ढकालले आफ्ना सभापति लामिछानेसहित पार्टीका विषयमा गम्भीर आरोप लगाएका छन् । महामन्त्री ढकालले ३८ जिल्ला घुमेर तयार पारेको ३२ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेकाले रास्वपाभित्र खैलाबैला मच्चिएको थियो ।
पछि ढकालले सभापति लामिछानेले सत्तामा पुग्न धेरै हर्कत गरेको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिए । पार्टी गतिविधि विपरीत अभिव्यक्ति दिएको भन्दै रास्वपाले पार्टीबाट सदाका लागि निकाल्ने गरी स्पष्टीकरण सोधेको छ ।
पार्टी सभापतिविरुद्ध गम्भीर आरोप लगाएकाले उनी पुनः रास्वपामा फर्किने अवस्था छैन । बरु लामिछानेले कारबाही प्रक्रिया सकिएपछि नयाँ व्यक्तिलाई महामन्त्री बनाउने तायरी गरेको एक रास्वपा नेताले बताए ।
यद्यपि, कसलाई नयाँ महामन्त्री बनाउने भन्ने बारेमा खुलाएको छैन । उता ढकालले सभापति लामिछानेको क्लब नभएकाले आफू पार्टीमै हुने दाबी गर्दै आएका छन् । ढकालले रास्वपाका धेरे नेताको पोल खोल्दा धेरै नेता विवादमा तानिने देखिएका छन् । ढकाल विवादमा तानेका अरु नेता तानिन्छन् ? कि तानिदैनन् ? पछिको समयले देखाउँछ ।
यसअघि रास्वपाकै समानुपातिकबाट सांसद बनेका ढाका कुमार श्रेष्ठले मन्त्री बन्न एक व्यवसायीसँग दुई करोड रुपैयाँ मागेपछि उनी विवादमा तानिएका थिए । श्रेष्ठले सभापति लामिछानेका लागि दुई करोड मागेको खुलासा गरेपछि पार्टी र सांसदबाट हटाइएका थिए ।
ढाकाकुमार प्रकरण सेलाए पनि जनताले रास्वपाको उक्त घटनालाई बिर्सेका छैनन् । रास्वपा गठन भएको दुई वर्षमा सुखद पक्षभन्दा विवादको श्रृखला एकपछि अर्को गर्दै बाहिरिँदै गएका छन् ।
पार्टीभित्र सभापति हाबी
रास्वपामा सभापति लामिछाने बढी हाबी हुने गरेका छन् । उपसभापति डीपी आर्यल र सांसद स्वर्णिम वाग्ले पार्टीका प्रमुख नेता हुन् । तर, हरेक निर्णयमा सभापति लामिछानेको निर्णय नै अन्तिम हुने गरेको अर्का रास्वपाका एक नेताले बताए ।
सभापति बढी हाबी हुँदा पार्टीभित्र लोकतान्त्रिक अभ्यास हुन नसकेको भन्दै कतिपय नेताहरुले आलोचना गर्ने गरेका छन् । पार्टी कमिटी प्रणालीभन्दा व्यक्ति हाबी हुँदा पार्टी सांगठनिक पद्धतिमा जान सकेको छैन ।
पार्टी संगठन सञ्चालन व्यवस्थित गराउन नसकेपछि केही समयअघि रास्वपाका नेताहरु एमाले पार्टी कार्यालय पुगेर अवलोकन गरेर सुझावसमेत लिएका थिए । पार्टी र संगठनलाई विधिमा ढाल्न नसक्दा व्यक्ति हाबी हुने प्रवृतिले पार्टीलाई क्षति पुग्ने निश्चित छ ।