७ बैशाख २०८२, आईतवार

सौर्य एयरलाइन्स दुर्घटना : ज्यान गुमाएकामध्ये ११ को शव परिवारले बुझे

TU Teaching hospital e1722053707617

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुका आफन्तले शव बुझ्ने क्रम जारी छ । अहिलेसम्म ११ वटा शव परिवारको जिम्मा लगाइएको छ ।

अस्पतालका अनुसार हिजो ६ वटा शव आफन्तले बुझेका हुन् । यसैगरी आज थप पाँच जनाका परिवारले शव लिएका छन् । बाँकी केहीले दिउँसो शव जिम्मा लिने बताएको शिक्षण अस्पाताल महाराजगञ्जले जनाएको छ ।

बाँकी सातवटा शव मध्ये एक शव विदेशी नागरिक अरिफ रेडाको रहेको छ । त्रिवि शिक्षण अस्पतालले सबैको पोस्टमार्टम बिहीबारै सकेको थियो । परिवारले दिएको विवरणकै आधारमा सबै शव पहिचान भएको अस्पतालले जनाएको छ । यता सौर्य एयरलाइन्सले पीडित परिवारलाई कम्पनीको तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाएको छ ।

कम्पनीले पीडित परिवारजनलाई कम्पनीका तर्फबाट हुनसक्ने सम्मको सहयोग, साथ र सद्भाव रहने आश्वासन दिएपछि हिजोदेखि परिवारले शव बुझ्न थालेका हुन् । गत बुधबार मर्मतका लागि पोखरा उडेको विमान त्रिभुवन बिमानस्थल परिसरमै दुर्घटनामा परेको थियो ।

पाइलटबाहेक विमानमा रहेका सबै १८ जनाको मृत्यु भएको थियो । पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा उल्लेख सुधार भइरहेको अस्पतालले जनाएको छ ।