९ बैशाख २०८२, मंगलवार

पार्टी पुनर्जागरण गर्न गाउँगाउँ पुग्छु : माओवादी अध्यक्ष दाहाल

Prachanda 6.jpg
फाइल फोटो

नेकपा माओवादी केन्द्रले गाउँगाउँमा पार्टी पुनर्जागरण अभियान थाल्ने भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा चुनावी गठबन्धन नगरी पार्टी एक्लै मैदानमा उत्रने गरी पार्टी पुनर्जागरण गर्नुपर्ने बताएका छन् । त्यसका लागि आफू गाउँ-गाउँमा पुग्ने उनको भनाइ छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा पाँच दिनसम्म चलेको पदाधिकारी बैठकमा उठेका विषयबारे जवाफ दिँदै अध्यक्ष दाहालले गुटबन्दी अन्त्य गरेर पार्टीलाई पुनर्जागरण गर्नुको विकल्प नरहेको बताएका थिए । बैठकले पार्टी पुनर्जागरण अभियान चलाउने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

संसद्‌मा तेस्रो हैसियतमा रहेर पनि डेढ वर्ष सरकारको नेतृत्व गरी सुशासन र विकासमा सकारात्मक कदम चालेको कुरा लिएर जनताको घरघरमा पुग्नुपर्ने अध्यक्ष दाहालको भनाइ थियो । साउन २५ गते स्थायी समिति बैठक बस्दै छ ।

माओवादी पदाधिकारी बैठक गएको शुक्रबारबाट सुरु भएर मंगलबार सकिएको हो ।

पुनर्जागरण अभियानका लागि आवश्यक खाका स्थायी समिति बैठकबाट गर्ने पनि माओवादीले निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाका अनुसार पार्टी पुनर्जागरण अभियानबारे निर्णय लिन बैठक भने साउन २५ गते बस्नेछ । ‘आगामी साउन २५ गते स्थायी समितिको बैठक बस्ने निर्णय गरेको छ,’ उनले भने ।