८ बैशाख २०८२, सोमबार

कोरियन एयरको नेपाली श्रमिकमाथि आर्थिक शोषण, सरकार रमिते

korean air

वैदेशिक रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने श्रमिक १८ महिनादेखि हवाई टिकटमा ठगिए पनि राज्यले नियमन गर्न सकेको छैन । टिकटमा सिन्डिकेट गर्दै आएको कोरियन एयरलाई नेपाली श्रमिकले महँगो मूल्य तिर्न बाध्य छन् । नेपाली ठगिइरहे पनि नेपाल एयरलाइन्सले कोरिया उडानको अनुमति पाउन सकेको छैन ।

नेपालबाट दक्षिण कोरिया सिधा उडान नहुँदा देशले वार्षिक ४७ करोड बढी तिर्नु परिरहेको छ । कोरिया जाने श्रमिकले अहिले काठमाडौं-सिओलको सिधा उडान गर्दै आइरहेको कोरियन एयरलाई एकतर्फी भाडा ८९५ डलर अर्थात् एक लाख १९ हजार बुझाउँछन् । जबकि नयाँदिल्ली-सिओल-नयाँदिल्लीको दुईतर्फी उडानको भाडा नै साढे ६ सयदेखि सात सय डलर हाराहारीमा छ । यसरी हिसाब गर्दा वार्षिक ४७ करोडभन्दा बढी रकम श्रमिकको थाप्लोमा भार परिरहेको छ । सिधा उडानका नाममा श्रमिकमाथि आर्थिक शोषण भएको श्रमिक विजय राईको गुनासो छ ।

कोरिया एयरलाइन्सले २०७९ माघदेखि सिधा उडान गरिरहेको छ । नेपाली श्रमिकले चर्को मूल्य तिर्नु परेपछि नेपाल एयरलाइन्सले गत वर्ष दक्षिण कोरियामा सिधा उडानको तयारी थाले पनि अनुमति पाएन, जसको फाइदा कोरियन एयरले उठाइरहेको छ । सन् २०२३ मा मात्रै १९ हजारभन्दा बढी नेपाली युवा ईपीएस प्रणालीमार्फत कोरिया गएका थिए । नेपालदेखि कोरियासम्म श्रमिकको ओहोरदोहोर मात्र होइन पर्यटक आवागमनको सम्भावना भए पनि त्यसको उपयोग नेपालले गर्न सकेको छैन । नेपाल एयरलाइन्सले कोरिया सिधा उडान गर्न सके कोरियन एयरको सिन्डिकेट हट्ने र पर्यटक आवागमन पनि बढ्ने पर्यटन व्यवसायीको भनाइ छ ।

सिधा उडानमा नाममा श्रमिक ठगिएको विषयमा संसदीय समितिले समेत चासो देखिएको छ । गत बिहीबारको बैठकमा समितिका सदस्यहरुले सिधा उडानका नाममा चर्को मूल्यको बोलपत्र समेत स्वीकार गरिएको र सरकारी अधिकारीहरु रमिते बनेको भन्दै आलोचना गरेका थिए । नेपालसँग हवाई सम्झौता गरेको कोरियाले नेपाली वायुसेवाको सुरक्षाप्रति प्रश्न उठाउँदै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले नेपाल एयरलाइन्सलाई कोरियाले अनुमति नदिएको विषयमा कूटनीतिक संवादमार्फत सुल्झाउन माग गरेका छन् ।

नेपालका लागि कोरियन एयरलाइन्सको जीएसए युनिभर्सल ट्राभल्सले लिएको छ । स्रोतका अनुसार युनिभर्सलकै लबिइङका कारण श्रमिकलाई भार पार्ने गरी नेपाल एयरलाइन्सलाई पन्छाइएको तथा सिधा उडानमा उसलाई मात्रै मिल्ने गरि सूचना तथा बोलपत्र प्रकाशन हुने गरेको छ । यही कुरालाई लिएर अहिले चौतर्फी आलोचना र दबाब बढेपछि योपटक सबैलाई मिल्ने गरी सूचना प्रकाशन गरिएको छ ।

वैदेशिक रोजगारीमा शून्य लागतको नारा लगाउँदै आए पनि कोरिया जाने श्रमिकमाथि हवाई भाडाका नाममा आर्थिक शोषण हुँदा सरकार रमिते बनेको छ । चौतर्फी आलोचनापछि श्रम मन्त्रालयले गत असार अन्तिम साता सिओलसम्म हवाई उडानमा जाने कामदारका लागि टिकट आपूर्तिसम्बन्धमा टेन्डर आह्वान गरेको छ । तर, यो प्रक्रिया पनि कार्यान्वयनको तहसम्म जाने तथा युनिभर्सलबाहेक अन्य सेवा प्रदायकले पाउनेमा आशंका गरिएको छ ।

    सम्बन्धित समाचार...