८ बैशाख २०८२, सोमबार

नेपाल काभा महिला भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

Cava

नेपाल काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनलमा इरानलाई सोझो सेटमा हराएर नेपालले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक सेमिफाइनलमा नेपालले पहिलो सेट २५-२१ ले जितेको थियो । सुरुवातबाटै लगातार अग्रता बनाएको नेपालले विजयी सुरुआत गरेको हो ।

प्रतिस्पर्धात्मक दोस्रो सेटमा नेपालले ८-५ र १६-१३ को अग्रता बनाए पनि इरानले कमब्याक गर्दै १९ अंकमा बराबरी गरेको थियो । उषा भण्डारीले अन्तिममा उत्कृष्ट स्पाइक गर्दा दुई पटक सेट पोइन्ट बचाउँदै नेपालले दोस्रो सेट २८-२६ ले जित्यो ।

नेपाललाई जित दिलाउन कप्तान अरुणा शाही र सरस्वती चौधरीले अट्याकिङमा राम्रो प्रदर्शन गरे । तेस्रो सेटको सुरुवातबाट १०-१३ सम्मैपछि परे पनि १७-१७ को बराबरीबाट नेपाल अगाडि बढेको थियो । अन्त्यमा नेपालले २५-२० को जित हाँसिल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

दुई पटकको सेन्ट्रल जोन भलिबल च्याम्पियन नेपाल घरेलु मैदानमा भएको लिगमा भने पहिलो पटक फाइनल पुगेको हो । अघिल्लो संस्करणको काभा नेसन्स लिगमा भने नेपाल सेमिफाइनलमा नै पराजित भएर बाहिरिएको थियो ।

नेपालले लिग चरणमा इरानसँग हार बेहोरेपनि श्रीलंका, भारत र मालदिभ्सलाई हराएर सेमिफाइनलमा स्थान बनाएको थियो ।

    सम्बन्धित समाचार...