
नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएका छन् ।
राष्ट्रपति मोहम्मद शाहबुद्दीनले नोबेल पुरस्कार विजेता डा. युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति शाहबुद्दीन, मुलुकको तीन वटै निकायका सेना प्रमुख र विभेद विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीच बंगभवनमा भएको वार्तापछि उक्त निर्णय लिइएको हो । विभेद विरोधी विद्यार्थी आन्दोलनका संयोजकले पनि डा. युनुसलाई प्रमुखमा नियुक्त गरिएकोमा स्वागत गरेका छन् ।
यसअघि उनीहरुले नै डा. युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
डा. युनिस हाल फ्रान्सको पेरिसमा छन्। उनी छिट्टै बंगलादेश फर्कने बताएका छन् ।
राष्ट्रपतिका प्रेस सचिव आबेदिनले अन्तरिम सरकारका बाँकी सदस्य विभिन्न राजनीतिक दलसँगको छलफलपछि टुङ्गो लगाइने बताए ।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुका साथै भारत पलायन भएपछि हिजो राष्ट्रपति शाहबुद्दीनले संसद विघटन गर्दै अन्तरिम सरकार गठन गर्ने प्रक्रियाको मार्ग प्रशस्त गरेका थिए । सोहि आधारमा डा. युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको हो ।
बंगलादेशमा सरकारी जागिरमा स्वतन्त्रता सेनानीका परिवारलाई दिइएको आरक्षण विरुद्ध चल्दै आएको देशव्यापी प्रदर्शनले प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे लामो शासनको अन्त्य गरिदिएको छ ।
हिजोदेखि बंगलादेशको जनजीवन केहि सामान्य बन्दै गएको रोयटर्सले उल्लेख गरेको छ । त्यस्तै गार्मेन्टहरु आज देखि पुनः सञ्चालनमा आउने बताइएको पनि विद्यालयहरु खुल्ने विषयमा कुनै टुङो लागेको छैन ।