
अस्ट्रेलियाको क्वीन्सल्याण्डस्थित उत्तरी सहर केर्न्समा रहेको एक होटलको छतमा हेलिकप्टर ठोक्किँदा पाइलटको मृत्यु भएको छ ।
आज विहान स्थानीय समय अनुसार साढे एक बजे क्वीन्सल्याण्डस्थित उत्तरी सहर केर्न्समा रहेको हिल्टन होटलको छतमा हेलिकप्टर ठोक्किँदा एक पाइलटको मृत्यु हुनका साथै होटलमा रहेका दुई पर्यटक घाइते भएको बीबीसीले जनाएको छ ।
घाइते हुनेमा ८० वर्षिय बुद्ध, ७० वर्षीया महिला रहेको र उपचारका लागि उनीहरुलाई अस्पताल लगिएको एम्बुलेन्स सेवाले जनाएको बीबीसीले उल्लेख गरेको छ । उनीहरुको अवस्था भने अहिले सामान्य रहेको बताइएको छ ।
हेलिकोप्टर छतमाथि खस्दा होटलमा ठूलो आगलागी भएको र होटलमा रहेको सयौँ पाहुनालाई तत्काल बाहिर निकाल्न सफल भएको होटल स्टाफले जनाएको छ ।
क्वीन्सल्याण्ड प्रहरीले हेलिकप्टरका पाइलटकाे घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको छ ।
होटल वरपरका सडकहरू प्रहरीद्वारा घेराबन्दी गरिएको छ भने प्रहरीले सुरक्षालाई मध्यनजर गर्दै आपतकालीन स्थितिको घोषणा गरेको छ ।
अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन-एबीसीका अनुसार हेलिकप्टरका दुईवटा रोटर ब्लेडहरू बाहिर आएपछि अनियन्त्रित भइ होटलको छतमा खसेको पनि अष्ट्रेलियाको यातायात सुरक्षा ब्यूरोले घटनास्थलमा अनुसन्धानकर्ताहरू पठाएको जनाएको छ । अनुसन्धानकर्ताहरूलेे अनुसन्धान सुरु गरेको बताइएको छ ।
होटलमा उपस्थित बेलायती पयर्टकले एबीसीलाई जनाएअनुसार उनले हेलिकोप्टर खसेको आवाज आएपछि भागभागको स्थिती आएको बताएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको बताइएको छ ।