
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको प्रष्टीकरण दिएका छन् ।
शनिबार पार्टीको रुकुम–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले आफू सधैं पार्टीको हितको पक्षमा रहँदा पनि नेतृत्व विरोधीको आरोप लाग्ने गरेको गुनासो गरे ।
अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी रहेको कार्यक्रममा शर्माले भने, ‘अध्यक्ष दाहाललाई तपाईंको भूमिका विचार निर्माणमा रहोस्, सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरुलाई दिनुस् भन्दा आफूमाथि नेतृत्व विरोधी कुरा गरेको आरोप लगाउने काम भयो ।’
शर्माले अध्यक्ष दाहालतिर फर्कंदै भने, ‘तपाईंलाई हटाएर आफू अध्यक्ष हुने कुनै चाहना राखेको छैन ।’ उनले पार्टीलाई समाप्त हुन नदिनका लागि आफूले अध्यक्ष दाहाललाई वैचारिक धारको नेतृत्व गर्न प्रस्ताव गरेको प्रष्टीकरण दिए । साथै, उनले आफूमाथि पार्टी विभाजन गर्न खोजेको आरोप पार्टी हेडक्वार्टरबाटै आएको जिकिर गर्दै अध्यक्ष दाहाल आफैँले त्यसको सार्वजनिक रुपमा खण्डन गर्नुपर्ने मागसमेत गरेका छन् ।
शर्माले ४८ वर्षको राजनीतिक यात्रामा आफूबाट कमीकमजोरी भएको हुनसक्ने तर आफूले जानेर कुनै गल्ती नगरेको बताए ।
‘म १४ वर्षदेखि यो आन्दोलनमा लागेको हो । ६१ वर्षको भएँ । म आन्दोलनमा लागेको ६ वर्षपछि अध्यक्ष प्रचण्डसँग भेट भएको थियो । त्यसपछि उहाँसँगै छु म । मैले कुनै दिन बिसाएको छैन,’ आफूमाथि लागेका आरोपको खण्डन गर्दै उनले भने, ‘४८ वर्षको यो दौरानमा मैले धेरै हमलाहरु खपेको छु । मैले धेरै आक्रमणहरुको प्रतिवाद गरेको छु । तर सावित गरेर मलाई प्रमाणित गर्न कसैले सकेको छैन । म चुनौती दिन्छु अहिले पनि कसैले सावित गर्छ भने । मैले पार्टीको, आन्दोलनको, नेतृत्वको, जनताको पक्षमा बाहेक काम गरेको पनि छैन ।’
उपमहासचिव शर्माले आफूमाथि पार्टीभित्रैबाट मनोगत रुपमा विभिन्न आरोप लाग्ने गरे पनि आफू पार्टी, आन्दोलन, नेतृत्व र जनताको पक्षमा काम गरिरहने बताए।