७ बैशाख २०८२, आईतवार

टिकटकमाथिको प्रतिवन्ध फुकुवा, बिहीवारदेखि चल्ने !

tik tok

अन्ततः सरकारले टिकटकमाथिको प्रतिवन्ध फुकुवा गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार सरकारले भदौ ६ गते बिहीवारदेखि टिकटकलाई सुचारु गर्ने निर्णय गरेको छ । स्रोतका अनुसार बुधवार साँझ सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले टिकटकमाथिको प्रतिवन्ध हटाउने निर्णय गरेका हुन् । यद्यपि, यो कुराको आधिकारिक पुष्टि भने हुन बाँकी छ ।

मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार मन्त्रिपरिषद्‍बाट भने यो निर्णय हुन बाँकी छ । बिहीवार बस्ने क्याबिनेट बैठकले निर्णय गरेसँगै बिहीवारदेखि नै देशभर टिकटक सहज रुपमा चल्ने स्रोतको दावी छ ।

त्यसो त सरकारले पछिल्लो केही दिनयता सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिवन्ध हटाउने तयारी गरिरहेकै थियो । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिवन्धबारे प्रश्न गरि रहेपछि सरकार प्रतिवन्ध खोल्ने गृहकार्यमा लागेको थियो ।

अघिल्लो सरकारले अघिल्लो वर्षको कात्तिक २३ गतेका दिन सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नु पर्ने सहितका व्यवस्था गरेको थियो । त्यसको केही दिनपछि अर्थात कात्तिक २७ गते सामाजिक द्वेष फैलाएको तथा सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

टिकटकमाथि लागेको प्रतिवन्धका कारण हालै टिकटकले नेपाल सरकारलाई पत्र लेखेर नेपालका सबै कानुन र शर्तहरु मान्ने लिखित प्रतिबद्धता जनाएको थियो ।

स्रोतका अनुसार उक्त पत्र आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै टिकटकमाथिको प्रतिवन्ध खोल्नेबारे आवश्यक गृहकार्य गर्न सञ्चार मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका थिए । अहिले सामाजिक सञ्जालमा कुनै पनि किसिमको प्रतिवन्ध लगाउन नहुने भन्दै प्रधानमन्त्रीले सञ्चार मन्त्रालय र आफ्नो टिमलाई टिकटकको प्रतिवद्धताबारे छलफल गरेर आवश्यक प्रस्ताव मन्त्रिपरिषद्‌मा ल्याउन भनेका थिए ।

    सम्बन्धित समाचार...