७ बैशाख २०८२, आईतवार

टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने सरकारको निर्णय

Cabinet oli

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध खुल्ला गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि लगाइएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेको सञ्चार तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । नीतिगत रुपमा टिकटकमाथि लगाइएको प्रतिबन्ध हटेपछि सञ्चालनमा आउन भने केही समय लाग्ने बताइएको छ ।

‘२०८० कात्तिक २७ गते टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय आज भएको छ । त्यो कार्यान्वयनमा आउन चाहीँ हाम्रा केही शर्तहरु छन्, त्यो पूरा गर्नुपर्छ,’– मन्त्री गुरुङले भने ।

सरकारले सामाजिक सञ्जाल टिकटकका पदाधिकारीहरुसँग पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने, डिजिटल सुरक्षा र साक्षरताको लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षामा र आइटीबेस बनाउन सहयोग गर्नुपर्ने,भाषाको फिल्टरिङ गर्नुपर्नेलगायतका शर्त राखेको मन्त्री गुरुङले बताए ।

नीतिगत रुपमा अहिले टिकटकको प्रतिबन्ध हटाइएपनि सरकारले राखेको माग पूरा गर्ने प्रतिवद्धतापछि मात्रै टिकटक सञ्चालनमा आउने उनको भनाइ छ ।

मन्त्रिपरिषद बैठकले टिकटकलाई तीन महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको छ ।

तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड सरकारले गत वर्षको कात्तिकदेखि सामाजिक विकृति बढाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित समाचार...