
पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट ऋण लिने प्रक्रियामा आफू संलग्न नरहेको दाबी गर्नु भएको छ ।
सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिलाई बयान दिँदै लामिछानेले सुप्रिम, सहारा, सूर्यदर्शनलगायतका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा आएका ऋणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताउनु भएको हो ।
गोरखा मिडिया नेटवर्कमा आफूले प्रबन्ध निर्देशकका रुपमा मात्र काम गरेको तर, कार्यकारी प्रमुखको जिम्मेवारी अध्यक्ष जीबी राईको भएको लामिछानेको जिकिर रहेको समितिका सभापति सूर्य थापाले जानकारी दिनुभयो ।
संसदीय विशेष समितिले लामिछानेलाई गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकका हैसियतमा बयान लिएको हो । समितिले लामिछानेलाई बयानका लागि ५० प्रश्न तयार पारेको छ ।
गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीसँग पनि समितिले आजै समितिले सोधपुछ गरेको छ । जोशी र लामिछानेको कार्यकालमा चार वटा सहकारीबाट ८० करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा लगिएको थियो ।
सहकारीमा भएको समस्याको विषयलाई लिएर संसद्ले गत जेठ १५ गते थापाको सभापतित्वमा समिति गठन गरेको थियो भने समितिले २३ गतेदेखि काम सुरु गरेको थियो । समितिलाई दिएको तीनमहिनाको समयअवधि भदौ २३ गते सकिँदैछ ।