
काठमाडौं । ट्रेकिङ एजेन्सी एशोसिएसन नेपाल(टान)को नजिकिँदै गरेको निर्वाचनमा अध्यक्षका उम्मेद्वार राजेन्द्रप्रसाद सापकोटा र उनको टिमलाई नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुले समर्थन गरेका छन् ।
काठमाडौंको चाबहिलमा भएको एक कार्यक्रममा पूर्व पर्यटन मन्त्री तथा नेकपा एमालेका नेता कृपाशुर शेर्पा, नेपाली काँग्रेसका पर्यटन विभाग प्रमुख आङ्गेलु शेर्पा, एनएमएका पूर्व अध्यक्ष तथा वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, एनएमएका पूर्व अध्यक्ष सन्तवीर लामा तथा टानका पूर्व अध्यक्ष र नेपाली काँग्रेसका नेता रमेश धमलाले सापकोटा र उनको टिमलाई बहुमतका साथ जिताउन आव्हान गरे ।
उनीहरुले राजेन्दले बोकेका एजेण्डा राम्रो भएको र त्यो एजेण्डा अनुसार टानलाई हाक्न सक्ने टिम तयार भएको दाबी गरे । नेपाली काँग्रेसका पर्यटन विभाग प्रमुख आङ्गेलुले राजेन्द्रको टिम सरकारसँग जोडिएको टिम भएकाले संविधान संशोधनको विषय उठिरहेका समयमा भोलिका दिनमा सापकोटाको टिमले टानको नीतिमा परिवर्तन, टानलाई चुस्त दुरुस्त व्यवस्थित बनाउनका लागि सिधै सत्तासँग सहकार्य गर्न सामथ्र्य रहेको बताए ।
त्यस्तै एनएमएका पूर्व अध्यक्ष सन्तवीर लामा र एनएमएका पूर्व अध्यक्ष तथा वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले राजेन्द्रप्रसाद सापकोटा पर्यटनमा अनुभव भएकाले उनी र उनको टिम संस्थाको हकदार भएको बताए । उनीहरुले राजेन्द्रले नेपाल पर्यटन बोर्डसँग सम्बन्धित भएर काम गरेको र पर्यटनको कामलाई नजिकबाट बुझेकाले यो टिमले जित्नेमा आफूहरु आशावादी रहेको बताए ।
नेपाली काँग्रेसका नेता तथा टानका पूर्व अध्यक्ष रमेश धमलाले राजेन्द्रप्रसादको टिम आधिकारिक रुपमा नेपाली काँग्रेस र नेकपा एमालेको टिम भएकाले यो टिमलाई सबै पर्यटन व्यवसायीले जिताउनुपर्ने बताए ।
त्यस्तै, एनएमएका अध्यक्ष निमानुरु शेर्पा, वरिष्ठ व्यवसायीहरु लाक्पा सोनाम शेर्पा, विक्रम पाँडे (काजी), फुर ग्याल्जेन शेर्पा, मिङ्ग्मा शेर्पा, टानका पूर्वसदस्य एवम् पूर्वमन्त्री निमा लामालगायतले सापकोटा नेतृत्वको समूहलाई हौँसला प्रदान गरेका थिए ।
कार्यक्रममा अध्यक्षका उम्मेद्वार राजेन्द्रप्रसाद सापकोटाले आफ्ना एजेन्डालाई थप प्रभावकारी बनाई दिएकोमा पूर्वअध्यक्ष्यहरुलाई धन्यवाद दिँदै अग्रजहरुले देखाएको बाटोमा अगाडि बढ्ने बताए ।
‘हाम्रा एजेन्डाहरुलाई थप प्रभावकारी बनाइदिनु भएको छ । हामी यहाँहरुले देखाउनु भएको बाटोमा अगाडि बढ्ने छौं,’ उनले भने, ‘अग्रजहरुको सम्मान, भावी पुस्ताको यो व्यवसायमा सुन्दर भविष्य निर्माण गर्ने हाम्रो अभियानमा तपाई सम्पूर्ण आदरणीय मतदाताहरुको अमूल्य मतको अपेक्षा गर्दछौँ ।’