
चलचित्र क्षेत्रकाे सर्वाेच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (दिनेश डीसी) नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
बोर्डको अध्यक्ष नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट डिसीसँगै, दीपा पाण्डे र राजेश थापाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस भएको थियो ।
चलचित्र निर्देशक, अभिनेता तथा संचारकर्मी समेत रहेका डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् ।
निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल साउन ९ गते सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो । नियुक्त भएसँगै डीसी दुई वर्षका लागि चलचित्र विकास बोर्डको नेतृत्वमा पुगेका छन् ।
अध्यक्षका लागि अभिनेत्री करिश्मा मानन्धरले पनि आवेदन दिएकी थिइन् । आवेदन दिएकामध्ये सिफारिस भएका तीनजनासँगै मानन्धर, प्रकाश भट्टराई र अर्जुनकुमार डंगोलसहित ६ जनाको आवेदन स्वीकृत भएको थियो ।
चलचित्र निर्देशक, अभिनेता तथा संचारकर्मी समेत रहेका डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् ।
सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’ मार्फत फिल्म क्षेत्रमा प्रवेश गरेका डीसीले निर्देशन गरेको पछिल्लो फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ थियो ।