
गौरा वर्षको अवसरमा टुँडिखेमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेसँगै पक्राउ गरेका तीन जना रिहा भएका छन् । उनीहरुलाई आज रिहा गरिएको बताइएको छ ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासमेत उपस्थित कार्यक्रममा नेताहरूको विरुद्धमा नाराबाजी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।
उनीहरू सबैलाई शुक्रबार रिहा गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए । उनीहरूलाई पक्राउ गरेपछि सरकारको चौतर्फी विरोध भएको थियो । लगत्तै, शुक्रबार रिहा भएका हुन् ।
युवाहरूले नेताहरूप्रति आक्रोशित हुँदै ‘मुर्दावाद’को नारा लगाएका थिए । युवाहरूको उक्त शैलीप्रति ओली र देउवा दुवैले सम्बोधनको क्रममा आपत्ति जनाएका थिए । केही दिनअघि पक्राउ पर्दा ती युवाहरुमाथि अनुसन्धान भइरहेको बताउँदै प्रहरीले भने उनीहरुको परिचय खुलाएको थिएन ।
तर, यस विषयमा पक्राउ पर्नेहरु सुर्खेत घर भएका ३४ वर्षीय गोपीराम जैसी, अछाम घर भएका २५ वर्षीय रेम्बो बुढा भनिने रामबहादुर बुढा र कञ्चनपुर घर भएका दिपक सिंह ठगुन्ना रहेका छन् ।
सरकारले आलोचना सुन्न नसकेर युवाहरुलाई पक्राउ गरेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (माओवादी केन्द्र) ले उनीहरुको गिरफ्तारीलाई लिएर संसदमा समेत सरकारको आलोचना गरी तत्काल रिहाइको माग गरेको थियो ।