
सिन्धुपाल्चोकमा बाढीले पुर्याएको क्षतिको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई लिएर उडेको हेलिकप्टर विहीबार बिहान काभ्रेको धुलिखेल आकाशबाटै काठमाडौं फर्किएको छ ।
प्रतिकूल मौसमका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसेतर्फ जान नसकी धुलिखेलको आकाशबाटै फर्किएर त्रिभुवन विमानस्थलमा अवतरण भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
सभामुख सापकोटाको टोली विहीबार बिहान सिन्धुपाल्चोकका लागि उडेको थियो । सापकोटा सिन्धुपाल्चोकबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
गए राती सिन्धुपाल्चोक बाह्रबीसे क्षेत्रमा गएको पहिरोले सडकमार्गसमेत अवरूद्ध भएको भन्दै सभामुख सापकोटा सहितको टोली नेपाली सेनाको हेलिकप्टरमा बाह्रबीसेतर्फ उडेका थिए।
सभामुख चढेको हेलिकोप्टर फेरि सिन्धुपाल्चोक जाने प्रयासमा रहेकै बेला काठमाडौंमा भारी वर्षा सुरुभएकाले मौसम झनै प्रतिकूल बनेको छ ।
यसैवीच, बाह्रबीसे रहेको नेपाली सेनाको ३० सदस्यीय उद्धार टोली बाढीग्रस्त क्षेत्रमा पुग्न लागेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले अनलाइनखबरसँग बताए ।
बुधबार राति भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा दुईजनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता छन् । तीनजनाको उद्धार गरिएको छ ।
बाढीले मध्य भोटेकोशी जनविद्युत आयोजनामा समेत क्षति पुर्याएको छ । आयोजनामा कार्यरत एकजना चिनियाँ प्राविधिक समेत बेपत्ता छन् ।