९ बैशाख २०८२, मंगलवार

कोशीमा पनि योगेशको चर्चा, संकटकालमा हातहतियारको कारोबार र चन्दा असुली गरेको आरोप

Indra yogesh

नेकपा (माओवादी केन्द्र) का नेता एवं कोशी प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले संकटकालमा नक्कली माओवादी बनेर हातहतियारको कारोबार र चन्दा असुली गरेको आरोप लगाएका छन् ।

शुक्रबार कोशी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले संकटकालमा नक्कली माओवादी बनेर चन्दा असुली र हात हतियारको कारोबार गरेका योगेशले जनयुद्धलाई हिंसा भनेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले योगेशलाई ‘एमालेको शरणार्थी’ संज्ञा दिए । योगेशको आरोप एमालेले समेत संस्थागत रुपमा स्वीकार नगरेको उनको दाबी छ । एक जना शरणार्थीको आरोपलाई माओवादीले ठूलो कुरा नमानेको उनले बताए । सो कुरालाई माओवादीले आवश्यक परेको ठाउँमा प्रतिवाद गर्ने पनि उनले बताए ।

‘हामी लडेकाहरुले यसलाई जनयुद्ध भनौंला । सम्मानीय प्रधानमन्त्रीज्यूले संविधानको मर्मअनुसार सशस्त्र द्वन्द्व भन्नुभएको छ । यसलाई हामी स्वीकार्छौं । तर, एक जना माननीयज्यू सो संकटकालको बेला हतियार, खरखजनाको कारोबार गर्नुहुन्थ्यो । उहाँले हतियार खरखजनाको काम नक्कली माओवादी बनेर गर्नुभयो र नक्कली माओवादी बनेर चन्दा असुलीको धन्दा गर्नुभयो ।’

उनले भने, ‘उहाँ एक जना माननीयज्यूले यो क्रान्तिलाई हिंसा भन्नु भएको छ । हामीलाई मान्य छैन, संस्थागत रुपमा त्यो दलले पनि यसलाई स्वीकारेको छैन जस्तो लाग्छ । मैले अहिले के भन्ने गरेको छु भने– त्यो दलको एक जना शरणार्थीले यो आन्दोलनको गरिमामाथि गरेको प्रहारलाई हामीले सामान्य रुपमा लिएका छौनौं । संस्थागत रुपमा त्यो दलले भनेको होईन, एक जना शरणार्थीले बोलेको कुरालाई हामीले धेरै ठूलो विषय लिँदैनौं । आवश्यक ठाउँमा प्रतिवाद गर्ने नै छौं ।’