७ बैशाख २०८२, आईतवार

पलेशालाई ऐतिहासिक काश्य पदक, ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली

palesa

पेरिस पारा ओलम्पिक्सअन्तर्गत पारा तेक्वान्दोमा नेपालकी पलेशा गोवर्धनले ऐतिहासिक पदक जितेकी छन् ।

के- ४४ महिला ५७ केजीमुनि तौल समूहमा काश्य पदक जित्दै पलेशा नेपाली खेलकुद इतिहासमा कुनै पनि ओलम्पिक्समा आधिकारिक पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । यो नेपाली खेलकुद कै अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो । यस अघि नेपालले कुनै पनि खेलको विश्वकप, ओलम्पिक्स र पारालम्पिक्समा कुनै पदक जित्न सकेको थिएन ।

कांस्य पदकका लागि भएको रिपेचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५-८ ले पराजित गर्दै इतिहास रचेकी हुन् । सुरुवाती २ मिनेट ३-० ले पछि परेकी पलेशाले त्यसपछि उत्कृष्ट पुनरागमन गरिन् । खेल सकिन १ मिनेट ५ सेकेन्ड समय बाँकी रहँदा खेल ७-७ को बराबरी अवस्थामा थियो । तर अन्तिम मिनेटमा निकै आक्रामक खेल प्रदर्शन गरेकी पलेशाले १५-८ को सानदार नतिजा हात पार्दै इतिहास रच्न सफल भइन् ।

पलेशाले रिपेचेजको पहिलो खेलमा घरेलु खेलाडी फ्रान्सकी सोफी काभरजानलाई २-१ को पराजित गरेकी थिइन् । उनी अन्तिम ८ मा विश्व नम्बर एक ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेससँग पराजित भएकी थिइन् भने राउन्ड आफ १६ को खेलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० को फराकिलो अन्तरले पराजित गरेकी थिइन ।

यससँगै पलेशाले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछिन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार ओलम्पिक वा पारा ओलम्पिकको व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कांस्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था रहेको छ । पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै नेपाल तेक्वान्दो संघले ११ लाख ९२ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यस अघि तेक्वान्दोका भरत सिंह महता के-४४, पुरुष ५८ के.जी मुनि तौल समूहअन्तर्गत राउन्ड अफ १६ जापानका मित्सुया टनाकासँग १९-३ ले पराजित भएका थिए । पेरिस पारालम्पिकमा सहभागी नेपालका तेस्रा खेलाडी भीम बहादुर कुमालले सोमबार पुरुषको ५० मिटर फ्रीस्टाइल एस नाइन क्याटगोरीमा आफ्नो चुनौती प्रस्तुत गर्ने छन् ।

    सम्बन्धित समाचार...