
इजरायलको तेल अवीव र जेरुसेलममा बन्दीहरुको रिहाइको माग गर्दै त्यहाँका नागरिकहरुले प्रदर्शन गरेका छन् ।
इजरायलभरका नागरिकहरूले प्रदर्शन गर्दै गाजामा बन्धक बनाइएका बन्दीहरूलाई फिर्ता ल्याउन हमाससँग सम्झौता गर्न सरकारलाई आग्रह गरेका छन् । जेरुसेलममा प्रधानमन्त्रीको कार्यालयबाहिर, तेल अवीव र अन्य सहर लगायत करिब ५ लाख मानिसहरु जम्मा भई प्रदर्शन गरेका हुन् ।
आइतबार इजरायली सेनाले हमासद्वारा बन्धक बनाइएको करिब ६ जनाको शव गाजाबाट बरामद गरेको बताएपछि थप बन्धकहरुको रिहाईका लागि तत्काल हमाससँग वार्ता गर्न इजरायलीहरु प्रदर्शनमा उत्रीएका हुन् । राजमार्ग घेराउ गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको बताइएको छ ।
बन्धकहरूलाई रिहा गर्न इजरायली सरकारलाई दबाब दिन बन्धकहरूका परिवारहरूले आज राष्ट्रव्यापी आम हड्तालको आह्वान गरेका छन् । बन्धक तथा बेपत्ता परिवार मञ्चले बन्धकहरुको रिहाईका लागि भएको सहमतिलाई तत्काल कार्यान्वयन गराउन आन्दोलनमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरेको छ ।
रोयटर्सका अनुसार ८ लाख सम्मिलित इजरायली ट्रेड युनियनले आम हड्तालको घोषणा गरेको छ। यसैबीच, तेल अभिभका मेयर रान हुलदाईले नगरपालिकाका नागरिकलाई आम हड्तालमा सहभागी हुन आग्रह गरेका छन्।
इजरायलका रक्षामन्त्री योभ ग्लान्टले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई हमाससँग युद्धविराम सम्झौता गर्न वार्ता गर्न आग्रह गर्नुभएको छ । ६ इजरायली बन्धक मारिएपछि नेतान्याहुले इजरायलले मृत्युका लागि जिम्मेवार व्यक्तिलाई पक्राउ नगरेसम्म आराम नगर्ने बताउनुभएको छ ।
गत वर्षको अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आश्चर्यजनक रुपमा आक्रमण गरी करीब १२ सय जनाको ज्यान लिनुका साथै २५१ जनालाई बन्धक बनाएर लगेका थिए । यसरी बन्धक बनाएकामध्ये नेपाली विद्यार्थी विपिन जोशी समेत रहेका छन् ।
हमासको नियन्त्रणमा अझै १ सय १ बन्धक रहेको र तीमध्ये कम्तिमा २७ जनाको मृत्यु भइसकेको पूर्वानुमान गरिएको बीबीसीले उल्लेख गरेकोछ ।