७ बैशाख २०८२, आईतवार

रियल म्याड्रिडको जितमा एम्बाप्पेको दुई गोल

Real

किलियन एम्बाप्पेले तीन खेलपछि स्पेनिस घरेलु लिगमा गोलको खडेरी तोडेका छन् । ला लिगा अन्तर्गत गएराति रियल मड्रिडले रियल बेटिसलाई २-० ले पराजित गर्दा दुबै गोल एम्बाप्पेले गरेका हुन् ।

सान्टियागो बर्नाबेउमा पहिलो गोल गर्नु अघि घरेलु टोलीले धेरै अवसर गुमाएको थियो । १९औं मिनेटमा रोद्रिगोको कर्नरमा एडर मिलियाटोको प्रहार गोलकिपर रुइ सिल्भाले बचाए । २२औं मिनेटमा एम्बाप्पेको प्रहार पनि आकाशियो ।

२४औं मिनेटमा फेडेरिको भाल्भर्डेको प्रहारमा गोलकिपर रुइ बाधक बनेका थिए । बारम्बार प्रयास गर्दा पनि सफल नभएपछि रियल पहिलो हाफमा गोलरहित बराबरीमा रोकियो । ६७औं मिनेटमा फ्रेन्च फरवार्ड एम्बाप्पेले डेडलक तोडे । उनले भाल्भर्डेको ब्याक हिल पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका हुन् । ला लिगामा एम्बाप्पेको यो पहिलो गोल हो । यसअघिका तीन खेलमा उनले गोल गर्न सकेका थिएनन् ।

यहि समरमा रियल आएका २५ वर्षीय एम्बाप्पेले ला लिगामा २५ सट पछि गोलको खाता खोलेका हुन् । ७५औं मिनेटमा उनले पेनाल्टीमा गोल गरेपछि रियल विजयी भएको हो । बेटिसले पनि गोलका केही अवसर पाएको थियो । तर सदुपयोग गर्न सकेन् । जारी सिजन रियल अपराजित छ । तर चार खेल खेल्दा बार्सिलोना भन्दा चार अंकले पछि छ । शीर्ष स्थानको बार्साको १२ र दोस्रो स्थानमा रहेको रियालको ८ अंक छ ।