
नेसन्स लिगकै खेलमा बेल्जियमले इजरायलमाथि तीन एक गोलको सहज जीत हात पार्यो । बेल्जियमका लागि केभिन डि ब्रुयनाले दुइ गोल गरे ।
सुरक्षाका कारण यो खेल न्युट्रल भेन्यु हंगेरीमा विनादर्शक खेलाइएको थियो । केही बेल्जियन सहरले इजरायल गाजा युद्धका कारण घरेलु मैदानमा हुनुपर्ने खेल आयोजना गर्न अस्वीकार गरेका थिए । सोही कारण बेल्जियम फुटबल संघ हंगेरीमा खेल खेलाउन बाध्य भएको हो । २१ औं मिनेटमा कप्तान ब्रुयनाले गोलको खाता खोले । ३६ औं मिनेटमा टिमोथी कास्टानियाले आफ्नै पोस्टमा गोल गरेपछि इजरायल खेलमा फर्कियो ।
अनान खलालीको हेडर टिमोथीसँग डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । बेल्जियमले पुनरागमनका लागि धेरै समय लगाएन् । ४८ औँ मिनेटमा युरी टेलेमन्सले इजरेलसँगको दुरी दुई एकमा पुर्याए । ५२ औँ मिनेटमा ब्रुयनाले पेनाल्टीमा गोल गरेपछि बेल्जियमले पुन लय समात्यो ।
चार मिनेटपछि बेल्जियमले पुन पेनाल्टी पाएको थियो । तर यसपटक ओपेन्डाको प्रहार इजरायली गोलकिपरले बचाए ।
यसैगरी अर्को खेलमा भने वेल्स र टर्कीएले गोलरहित बराबरी खेल्दै अङ्क बाँडे ।
आरोन राम्जी र जो रन्डनले वेल्सका लागि गोल गर्ने दुई सुनौला अवसर गुमाएका थिए । ६४ औँ मिनेटमा बारिस यल्मज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि टर्किय दश खेलाडीमा समेटिएको थियो । तर वेल्सले त्यसको फाइदा उठाउन सकेन ।
रोड्रीगोको गोलमा ब्राजिल विजयी
दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिलले इक्वेडरलाई पराजित गरेको छ ।
शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा खेलको एक मात्र गोल ३०औं मिनेटमा रोड्रीगोले गरेका थिए ।
यो दक्षिण अमेरिकी विश्वकप छनौटमा ब्राजिलको तेस्रो जित हो । ७ खेलमा ३ जित एक बराबरी र ३ हार बेहोरेको ब्राजिलको १० अंक रहेको छ । ब्राजिल अंक तालिकामा चौथो स्थानमा रहेको छ । त्यस्तै इक्वेडरको भने ७ खेलमा ८ अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।