
नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले ४० करोड भन्दा माथिको भ्रष्टाचार मुद्दामा राष्ट्रिय सहमति हुने गरेको बताउनुभएको छ ।
शनिबार हरि रोकाद्वारा लिखित पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै महासचिव भुसालले ४०-५० करोड रुपैयाँभन्दा माथिका कुनैपनि भ्रष्टाचारका मुद्दामा दलहरुका बीचमा राष्ट्रिय सहमति हुने बताउनुभएको हो ।
उहाँले ठूला भ्रष्टाचारहरु एमाले, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरुको संलग्नता बिना नहुने बताउनु भयो । उहाँले ठूला दलहरुका बीचमा राष्ट्रिय सहमती गरेर भ्रष्टाचार हुने गरेको भन्दै राजनीति, पार्टी र मुलुक नै सकिराखेका बताउनु भयो ।
उहाँले राजनीतिक दल र दलका नेता भ्रष्टाचारमुक्त भएपछि मात्रै समाजवादतिर जान सकिने बताउनु भयो । उहाँले घुस खाने मान्छे उत्पादन नगर्ने पार्टी निर्माण नगरेसम्म कृषिमा आत्मनिर्भर हुन नसकिने बताउनु भयो ।
महासचिव भुसालले नेपालमा लोकप्रियतावादले समाजवादलाई बिगारेको बताउनु भयो । उहाँले समाजवादको भाष्यलाई सबैभन्दा बढी प्रधानमन्त्री केपी ओलीले बिगारेको आरोप लगाउनु भयो । चुच्चे रेल र टावरहरुको कुरा गरेर प्रधानमन्त्री ओलीले समाजवादको भाष्य बिगारेको उहाँको भनाई छ ।
उहाँले सरकारले दृढ संकल्प लिन सकेमा र सोही अनुसारको काम गर्न सकेमा ५ वर्षमा कृषि उपजमा आत्मनिर्भर हुन सकिने बताउनुभयो । त्यस्तै १२ वर्षमा गरिबी र बेरोजगारीलाई हटाउन सकिने उहाँले बताउनु भयो ।