
सत्ता गठबन्धन दलबीच संसद् र सरकारलाई प्रभावकारी बनाउन एकताबद्ध भएर उभिने र संसद् तथा सार्वजनिक मञ्चमा समेत एउटै धारणा बनाएर प्रस्तुत हुने सहमति भएको छ ।
सरकार गठन भएको झन्डै दुई महिनापछि आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलको बैठकमा संविधान संशोधन, सरकारका काम लगायतका विषयमा एउटै धारणा बनाएर मात्र सार्वजनिक अभिव्यक्ति दिने सहमति भएको हो । बैठकमा सरकार र संसद्को प्रभावकारीताका विषयमा समेत छलफल भएको थियो ।
बैठकमा गठबन्धन दलका नेताहरुका फरक फरक भनाइ सार्वजनिक हुँदा जनतामा अन्योल भएकाले अबदेखि कुनै पनि विषयमा समान धारणा बनाएर मात्र बोल्ने सहमति भएको बताइएको छ । संविधान संसोधनको विषय र सरकारप्रति विभिन्न खाले गलत प्रचार भएकाले सत्ता पक्षले एकढीक्का भएर प्रस्तुत हुने विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताउनु भयो ।
त्यस्तै संविधान संसोधनको विषयमा सबै दलसंग वृहत् छलफल गरेर ठोस धारण निर्माण गरेर अघि बढ्ने सहमति समेत बैठकमा भएको छ । बैठकमा न्यूनतम् साझा कार्यक्रमका विषयमा समेत छलफल भएको बताइएको छ । नेपाली कांग्रेस र एमालेविच सरकार निर्माणका बेला भएको ७ बुँदे सहमती अनुरुप नै न्युनतम साझा कार्यक्रम बनाइनेछ ।
बैठकमा सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा एमाले, जनमत, लोसपा, नागरिक उन्मुक्ति र जनता समाजवादी पार्टीका शीर्ष नेता सहभागी थिए ।