
नायक धिरज मगर मंगलबार आयोजना भएको फिल्म ‘खुस्मा’को ट्रेलर रिलिज कार्यक्रममा भक्कानिए । बोल्दा बोल्दै उनको आँखाबाट आँसु खस्यो । यसपछि, उनी केही समय बोल्न सकेनन् ।
मंगलबार धिरजको जन्मदिन समेत हो । जन्मदिन पनि रहेकाले धिरज अझै बढी भावुक बने । रुकुममा जन्मिएका धिरज दुई वर्षको उमेरमा परिवारसहित युके पुगेका थिए । फिल्म ‘खुस्मा’को छायांकन रुकुम मैकोटमा भएकाले धिरज आफू जन्मिएको ठाउँमा फर्किए । आफूलाई स्थानीय बासिन्दाले निकै प्रेम दिएको भन्दै धिरज भक्कानिएका हुन् ।
उनले भने–‘जन्मदिनमा मलाई खुस्मा फिल्म उपहार दिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु । यो फिल्मले गर्दा म आफ्नो गाउँ फर्किन पाएँ । दुई वर्षको हुँदा म युके गएको हुँ । जब म रुकुमको टक्सेरा गाउँ गए, मलाई त्यहाँ माया गर्ने बाजे, मामा–माइजू, काका–काकीलाई भेट्न पाएँ । म युकेबाट आफ्नो गाउँलाई चिनाउन चाहन्छु । म केही हदसम्म यो कुरामा सफल भए कि भन्ने लाग्छ ।’
धिरजले आफ्नो परिवारलाई सम्झिए । आफ्नो पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’की निर्देशक रेनशा बान्तवा राई र निर्माता प्रज्ज्वल शमशेर जबरालाई पनि सम्झिए ।
धिरजको जन्मदिनको अवसर पारेर निर्माण पक्षले केक समेत काटेर सेलिव्रेशन गरेको थियो । असोजको ३ गतेबाट यो फिल्म देशभरका हलमा रिलिजमा आउँदै छ ।

अशोक थापा मगरको निर्देशनमा तयार भएको यो फिल्मको ट्रेलरमा प्रेम, विछोडको कथा छ ।
फिल्ममा धिरज मगर, उपासना सिंह ठकुरी, माओत्से गुरुङ, राज थापा काउचा, विजय सुब्बा, अरुण मगर लगायतका कलाकारहरुको अभिनय छ ।
सार्वजनिक ट्रेलरमा धिरज र उपासना बीचको प्रेम, विवाह, परिवारको सदस्य हराउँदाको पीडालाई प्रस्तुत गरिएको छ । जनयुद्धकालमा फर्किएको एक जोडीको प्रेमकथामा यो फिल्म निर्माण भएको हो ।