
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।
हिन्दु राज्यसहितको राज संस्थाको वकालत गरिरहेका अध्यक्ष लिङ्देनले बुधबार पूर्व राजासँग भेटवार्ता गरेका हुन्।
पूर्वराजा ज्ञानेन्द्र र लिङ्देनबीच झापाको दमकस्थित चिया बगानमा भेटवार्ता भएको बताइएको छ ।
भेटमा लिङ्देनले राप्रपाको घोषित कार्यक्रम र देशको समसामयिक राजनीतिक परिस्थितिको बारेमा बताएका छन् ।
पूर्वराजासँग भएको भेटवार्ताका बारेमा अध्यक्ष लिङ्देनले औपचारिक रूपमा केही बताएका छैनन्।
अध्यक्ष लिङ्देननिकट कोशी प्रदेशका एक नेताले अध्यक्ष लिङ्देन र पूर्वराजाबीच राजसंस्था पुनर्स्थापनाका एजेन्डालगायत विषयमा कुराकानी भएको छ।
‘विगतमा पनि धेरै पटक स्नेहपूर्ण भेटघाट भएको छ, यसपटकको भेट नियमित भेटघाट हो,’ ती नेताले भने।
देशको राष्ट्रिय राजनीति अस्थिर भइरहेको र जनताबीचमा बढ्दो निराशाको बीचमा पूर्वराजा ज्ञानेन्द्र र लिङ्देनबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।