८ बैशाख २०८२, सोमबार

प्रदीपसँग दोस्रो सहकार्य गर्दै दिव्या, ‘पिताम्बर’बाट अलग भइन् आँचल

aanchal pradeep divya

अभिनेत्री आँचल शर्मा तीन फिल्मको व्यस्ततालाई लिएर तनावमा थिइन्। ‘दुःखी आत्मा’, ‘जेरी अन टप’ र ‘पिताम्बर’को छायांकन एकै समयमा पर्नाले उनले कम्तिमा एक फिल्म छाड्नुपर्ने निर्णयमा पुगेकी थिइन्। अन्ततः उनले ‘पिताम्बर’बाट हात झिकेकी छन्।

आँचलले समय नमिलेका कारण आफू सहमतिमै फिल्मबाट अलग भएको बताइन्।

आँचलको बाहिरिने निर्णयपछि फिल्म ‘पिताम्बर’मा अभिनेत्री दिव्या रायमाझीको प्रवेश भएको छ। दिव्या अहिले फिल्मको छायांकनका लागि नवलपरासी पुगेकी छन्।

फिल्म ‘पिताम्बर’मा दिव्याको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिने तयारी भइरहेको छ। यो जोडीको दोस्रो सहकार्य हो। यसअघि, दिव्या र प्रदीपले फिल्म ‘एक्टर’मा सँगै काम गरिसकेका छन्, जसले दिव्याको फिल्मी यात्रा प्रारम्भ गरेको हो।

‘एक्टर’ यही कात्तिक १५ गते लक्ष्मीपूजाको अवसरमा प्रदर्शनमा आउँदैछ। साथै, दिव्या अभिनेता दीलिप रायमाझीकी छोरी हुन् र उनको अर्को फिल्म ‘बरिष्ठ बलराम’ पनि पाइपलाइनमा छ।

स्रोतका अनुसार, दिव्यालाई ‘पिताम्बर’मा ल्याउन प्रदीपको ठूलो भूमिका रहेको छ। ‘एक्टर’मा सँगै काम गरेपछि उनीहरूबीचको निकट सम्बन्धलाई लिएर फिल्म क्षेत्रमा गाइँगुइँ चर्चा पनि चलेको छ। दिव्याको प्रवेशले यो चर्चा अझ बढेको छ। ‘पिताम्बर’मा दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त र आर्यन सिग्देलजस्ता चर्चित कलाकारहरूको पनि भूमिका रहनेछ।