७ बैशाख २०८२, आईतवार

किन बेवास्ता गरे प्रकाश सपूतले ‘पूर्ण बहादुरको सारङ्गी’को पोस्टर र टिजर ?

Prakash Saput

चलचित्र क्षेत्रमा कहिलेकाहीँ कलाकारले एकभन्दा बढी प्रोजेक्टमा काम गरिरहेका बेला उनीहरूको प्राथमिकता र प्रचार रणनीतिमा देखिने भिन्नता चर्चा र कुतूहलको विषय बन्ने गरेको छ।

हालै प्रकाश सपूतले अभिनय गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को पोस्टर र टिजर सार्वजनिक भए पनि उनले यो टिजर फेसबुकमा सेयर नगरेको विषयले धेरैलाई चकित तुल्याएको छ।

चलचित्रको पोस्टर र टिजरमा प्रकाशलाई प्रमुख पात्रका रूपमा देखाइएको छ, जसले गर्दा टिजरले राम्रो चर्चा कमाएको थियो। बुवाको मुख हेर्ने दिन सार्वजनिक गरिएको यो टिजरलाई चलचित्रकर्मीहरूसँगै उनका प्रशंसकले पनि निकै मन पराएका थिए। तर, सधैं चर्चामा रहने प्रकाशले यो टिजरलाई आफ्ना सामाजिक सञ्जालमा किन सेयर नगरेका भन्ने प्रश्नले धेरैलाई चासो जगाएको छ।

विश्वस्त स्रोतका अनुसार, प्रकाश सपूत अहिले आफ्नै निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘वसन्त’ प्रति बढी ध्यान केन्द्रित गरिरहेका छन्। ‘वसन्त’ उनको निर्देशन करियरको पहिलो चलचित्र भएकोले, उनले यो प्रोजेक्टलाई बढी प्राथमिकता दिएका छन्। त्यसैले पनि उनी ‘पूर्ण बहादुरको सारङ्गी’ भन्दा पहिले ‘वसन्त’ रिलिज होस् भन्ने चाहन्थे। तर, विभिन्न कारणले गर्दा ‘पूर्ण बहादुरको सारङ्गी’ पहिले नै प्रदर्शनमा आउने भएपछि, प्रकाशले यसप्रति खासै चासो नदिएको गाइँगुइँ छ।

यसलाई धेरैले व्यावसायिक रणनीति माने पनि केहीले भने प्रकाशको यस्तो व्यवहारलाई चलचित्र टिमप्रति अन्याय भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा कलाकारहरूको उपस्थितिलाई महत्त्व दिने यो समयमा उनले टिजर सेयर नगर्नु पनि एक प्रकारको ‘साइलन्ट स्टेटमेन्ट’ मानिएको छ।

प्रकाश एक जना मात्रै हैन

यो एकपटकको घटना मात्र होइन फिल्मका प्रचार सामग्रीहरु सामाजिक सञ्जालमा सेयर नगर्ने । अभिनेता दयाहाङ राईले पनि आफ्नै चलचित्र ‘कार्साङ’ को पोस्टर हालसम्म सेयर गरेका छैनन्।

जबकि उनका सामाजिक सञ्जालमा अन्य चलचित्रका पोस्टर र सामग्रीहरू प्रशस्तै देखिन्छन्, विशेषगरी ‘साम्बाला’ र ‘पूजा सर’ जस्ता चलचित्रहरूका। यो घटनाले पनि कलाकारहरूको सामाजिक सञ्जालमा आधारित प्रचारप्रसारबारे थप बहस सुरु गराएको छ।

प्रकाश र दयाहाङ दुवै अहिले आफ्नो प्राथमिकतामा केन्द्रीत देखिन्छन्, तर दर्शकहरूको ध्यान भने यी ‘सार्वजनिक नहुनु’ का कारणमा गइरहेको छ।

    सम्बन्धित समाचार...